काठमाडौं– राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सांसद तथा इञ्जिनियर श्रीराम न्यौपानेले चिलिमे जलविद्युत आयोजनाको सुरुङभित्र ६ जना फसेको सूचना प्राप्त भएको बताएका छन्।
भोटेकोशी हुँदै त्रिशूली नदीमा आएको भीषण बाढीपछि उद्धारका गतिविधिबारे फिल्डमै रहेर निरन्तर जानकारी दिँदै आएका न्यौपानेले चिलिमे सुरुङमा फसेकाको उद्धारका लागि त्यसतर्फ जान लागेको बताएका हुन्।
आइतबार सामाजिक सञ्जालमार्फत उनले सुरुङभित्र फसेकाको उद्धारमा आफ्नो इञ्जिनीयरिङ अनुभव र प्राविधिक ज्ञान प्रयोग गर्न सकिने विषयमा जानकारी लिन तथा आवश्यक सुझाव दिन आफू चिलिमेतर्फ जान लागेको बताएका छन्।
आवश्यकता परेको अवस्थामा उद्धार टोलीसँगै प्रत्यक्ष रूपमा खटिने तयारी रहेको पनि उनले उल्लेख गरेका छन्।
यसैबीच, भोटेकोशी हुँदै त्रिशूली नदीमा आएको बाढीका कारण सुरुङभित्र फसेका ३ जनाको यसअघि नै उद्धार भइसकेको छ। त्यस्तै, बेत्रावतीमा बाढी र पहिरोले पुरिएको घरबाट एक महिलाको समेत उद्धार गरिएको छ।
बाढीपछि नदी आसपासका जलविद्युत आयोजना तथा संरचनामा जोखिम बढिरहेका बेला सुरुङभित्र अझै ६ जना फसेको सूचना आएपछि उद्धार टोलीले त्यसतर्फको अवस्थाबारे थप विवरण संकलन गरिरहेको छ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।