काठमाडौं– भोटेकोशी नदीमा आएको विनाशकारी बाढीपछि हालसम्म १ हजार ३४१ शव फेला परेको छ।
नेपाल प्रहरीले बाढी प्रभावित क्षेत्रमा खोज, उद्धार, राहत वितरण तथा शव व्यवस्थापनका लागि ७ हजार ९१२ प्रहरी परिचालन गरेको जनाएको छ।
प्रहरीका अनुसार फेला परेका शवमा ३२५ महिला र ५२३ पुरुष छन्। त्यसैगरी ४९३ वटा आंशिक मानव अंग फेला परेका छन्।
शवको पहिचानका लागि प्रहरीले २ हजार ४७२ जनाको डीएनए नमुना संकलन गरिसकेको छ। हालसम्म १ हजार २८६ मृतकको तथा १ हजार १८६ जना आफन्तको डीएनए नमुना संकलन गरिएको छ।
१ हजार ३७ शव व्यवस्थापन गरिसकेको प्रहरीले जनाएको छ। पहिचान नखुलेका १ हजार २९७ शवको विवरण प्रहरीको वेबसाइटमा अपलोड गरिएको छ।
बाढीपछि ४ हजार ४४ जना बेपत्ता रहेका छन्। तीमध्ये ३ हजार ४३८ जना स्वदेशी र ६०६ विदेशी नागरिक रहेका छन्।
हालसम्म ९ हजार १५१ जनाको उद्धार गरिएको छ। विभिन्न स्थानमा रहेका होल्डिङ सेन्टरमा तीमध्ये ३ हजार ९८ जनालाई राखिएको प्रहरीले जनाएको छ।
बाढी प्रभावित क्षेत्रमा उद्धार तथा खोजीका साथै नागरिकलाई सचेत गराउन ११७ वटा जनचेतनामूलक कार्यक्रम सञ्चालन गरिएको छ। ती कार्यक्रममा ४२ हजार ३६१ जना सहभागी भएको प्रहरीले जनाएको छ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।