काठमाडौं– भोटेकोशी नदीमा आएको विनाशकारी बाढीबाट प्रभावित नागरिकको उद्धार, राहत तथा पुनःस्थापनाका लागि अनामनगरस्थित अक्सिडेन्टल पब्लिक स्कुलले २ लाख ५१ हजार रुपैयाँ सहयोग गरेको छ।
विद्यालयले उक्त रकम प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा जम्मा गरेको प्रिन्सिपल टेकबहादुर पौडेलले जानकारी दिए। शिक्षक, कर्मचारी तथा विद्यालय परिवारको सामूहिक सहभागितामा रकम संकलन गरी सहयोग गरिएको उनले बताए।
विद्यालयका निर्देशक डिबी निरौलाले विपद्का बेला प्रभावित नागरिकलाई सहयोग गर्नु मानवीय तथा सामाजिक दायित्व भएको बताए। राज्यको प्रयाससँगै निजी क्षेत्र, शिक्षण संस्था, संघसंस्था तथा नागरिकको सहकार्य आवश्यक रहेको उनको भनाइ छ।
विद्यालयका व्यवस्थापक तथा सूचना प्रमुख गोपाल पौड्यालले विद्यार्थीलाई शैक्षिक ज्ञानसँगै मानवीय संवेदना र सामाजिक उत्तरदायित्वको भावना विकास गराउनु शिक्षालयको दायित्व भएको बताए।
उनले बाढी प्रभावितको तत्काल उद्धार र राहतसँगै दीर्घकालीन पुनःस्थापनामा समेत राज्य तथा सरोकारवाला पक्षबीच निरन्तर सहकार्य आवश्यक रहेको बताए।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।