काठमाडौं– भोटेकोशी बाढीपछि प्रभावित क्षेत्रमा नेपाली सेनाले खोज तथा उद्धारलाई निरन्तरता दिएको छ । भदौ २० गते साँझ ७ बजेसम्मको विवरणअनुसार सेनाले हवाई, स्थल तथा सुरुङभित्र उद्धार कार्यलाई तीव्र बनाएको छ ।
११औँ दिन नेपाली सेनाले गरेको प्रमुख काम यस्ता छन् :
३९ जनाको हवाई उद्धार : विभिन्न प्रभावित क्षेत्रबाट अमेरिकी र चिनियाँ नागरिक एक–एक जनासहित ३९ जनालाई हेलिकप्टरमार्फत उद्धार गरिएको छ । हालसम्म नेपाली सेनाले हवाई साधनबाट २७५ विदेशी नागरिकसहित ३ हजार ९९७ जनाको उद्धार गरेको छ ।
चिनियाँ नागरिकको जीवित उद्धार : रसुवाको हाकुस्थित माथिल्लो त्रिशूली–१ को सुरुङभित्र करिब २५० मिटर पुगेपछि संयुक्त उद्धार टोलीले चिनियाँ नागरिक लु हाइताओ (Lu Haitao) लाई जीवितै उद्धार गरेको छ । सोही क्रममा थप दुई शवसमेत फेला पारिएको छ ।
रसुवागढीमा खोजी : रसुवागढी जलविद्युत् आयोजनाको पावर हाउसको छैटौँ तलासम्म पुगेर खोजी गर्दा कोही फेला परेनन् । पाँचौँ तलासम्म लेदो भरिएकाले लेदो हटाउँदै थप खोजी भइरहेको छ ।
त्रिशूली–३ ‘ए’ मा उद्धार जारी : सुरुङभित्र फसेकाको खोजीका लागि नेपाली सेनाका ७५, सशस्त्र प्रहरीका १८ तथा नेपाल प्रहरी, विज्ञसहितको संयुक्त टोली परिचालन गरिएको छ ।
त्रिशूली–३ ‘बी’ मा मेसिन प्रयोग : ८९ जना सैनिक, तीन गैरसैनिक तथा आयोजनाका प्रबन्ध निर्देशकसहितको टोलीले तीनवटा Bobcat र जेनेरेटर प्रयोग गरेर खोजी गरिरहेको छ । अडिट–२ टनेलतर्फ Excavator लैजान सक्ने गरी बाटोसमेत सफा गरिएको छ ।
चिलिमे हाइड्रोमा १०५ मिटरभित्र पुग्यो टोली : विदेशीसमेत सहभागी संयुक्त टोलीले Mini Excavator र Mud Pump प्रयोग गरी लेदो हटाउँदै पुनः सुरुङभित्र १०५ मिटरसम्म प्रवेश गरेको छ ।
स्थलमार्फत खोजी : मैलुङदेखि स्याफ्रुबेंसीसम्म पैदल गस्ती गर्दै प्रभावित क्षेत्रमा खोज तथा उद्धार जारी राखिएको छ ।
३१ जनालाई स्वास्थ्य सेवा : त्रिशूली र धुन्चेमा स्थापना गरिएका आपत्कालीन उपचार केन्द्र तथा मेडिकल पेट्रोलबाट ११औँ दिन ३१ जनाले स्वास्थ्य सेवा पाएका छन् । हालसम्म ३ हजार २९७ जनाले स्वास्थ्य सेवा प्राप्त गरेका छन् ।
तादी नदीमा पुल जडान : नुवाकोटको विदुर नगरपालिका–५ देवीघाटस्थित तादी नदीमा नेपाली सेनाको इन्जिनियरिङ फौजका ५५ जनाको टोलीले एक्रो ब्रिज जडानको काम गरिरहेको छ । ९ हजार ३०० भन्दा बढी सैनिक मैदानमा : रसुवाको टिमुरेदेखि नुवाकोट, धादिङ, चितवन र नवलपरासी पूर्वका प्रभावित क्षेत्रसम्म नेपाली सेनाका ९ हजार ३०० भन्दा बढी फौज प्रत्यक्ष रूपमा परिचालन भएका छन् । उनीहरूले घाइतेको खोज तथा उद्धार, शव व्यवस्थापनमा सहयोग, राहत सामग्री ढुवानी, अवरुद्ध सडक तथा पुल सञ्चालन र आपत्कालीन उपचारलगायतका काम गरिरहेका छन् ।
११औँ दिन पनि सुरुङभित्रको खोजी, भग्नावशेष हटाउनेदेखि सडक–पुल सञ्चालन र स्वास्थ्य उपचारसम्मका कामलाई सेनाले निरन्तरता दिएको छ । विशेषगरी माथिल्लो त्रिशूली–१ को सुरुङबाट चिनियाँ नागरिक जीवितै उद्धार हुनु खोज तथा उद्धार अभियानको महत्वपूर्ण उपलब्धिका रूपमा देखिएको छ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।