काठमाडौं– चिलिमे जलविद्युत् आयोजनामा उद्धार प्रयास निरन्तर जारी छ। हाल नेपाली सेना र भारतीय सेनाका २१ जना सुरुङभित्रै म्यानुअल रूपमा माटो तथा भारी भग्नावशेष हटाउने कार्यमा खटिएका छन्।
भौगोलिक विकटता, प्रतिकूल मौसम र सडक सञ्जाल पूर्ण रूपमा विच्छेद भएका कारण आवश्यक जनशक्ति, सामग्री र उपकरण घटनास्थलसम्म पुर्याउन चुनौतीपूर्ण भएकाले उर्जामन्त्री विराजभक्त श्रेष्ठको सचिवालयले जनाएको छ।
सचिवालयले भनेको छ, ‘२५० मिटर लामो सुरुङमध्ये करिब १०० मिटर भाग सफा गरिएको छ। तर म्यानुअल रूपमा मात्र उद्धार सम्भव नहुने भएकाले ठूलो एक्स्काभेटर घटनास्थलसम्म पुर्याउनु अत्यावश्यक छ।’
एक्स्काभेटर पुर्याउन स्याफ्रुबाट पावरहाउस पोर्टलसम्म पहुँच सडक निर्माण गर्नको लागि आजदेखि काम सुरु भएको छ। सुरुङमार्फत एक्स्काभेटर लैजाने विकल्पमा पनि करिब १०० मिटर भागमा रहेको माटो हटाउने काम भइरहेको जनाएको छ।
ठूला हेलिकोप्टर अवतरण गर्न सम्भव नभएकाले साना हेलिकोप्टरमार्फत आवश्यक सामग्री तथा उपकरण पुर्याउने प्रयास पनि जारी छ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।