विराटनगर– श्रीकृष्ण जन्माष्टमीको भोलिपल्ट मनाइने राधाकृष्ण रथयात्रा कोशी प्रदेशका विभिन्न सहरमा शनिबार निकालिँदै छ। विराटनगरमा ५९औँ राधाकृष्ण रथयात्रा निकालिँदै छ भने इटहरी, दुहबी लगायतका सहरमा पनि रथयात्राको तयारी गरिएको छ।
विराटनगर–१ स्थित राधाकृष्ण मन्दिरबाट दिउँसो ३ बजे रथयात्रा सुरु हुने आयोजकले जनाएको छ। रथयात्राका लागि आवश्यक सम्पूर्ण तयारी पूरा भएको छ।
विराटनगरको रथयात्रामा नेपालका विभिन्न जिल्लासहित भारतका सीमावर्ती क्षेत्रबाट पाँच लाखभन्दा बढी भक्तजन सहभागी हुने आयोजकको अनुमान छ। ठुलो संख्यामा श्रद्धालु सहभागी हुने भएकाले व्यवस्थापन, सुरक्षा तथा स्वास्थ्य सेवाका लागि विभिन्न टोली परिचालन गरिएको छ।
यस पटक विराटनगरको रथयात्रामा डिजे साउन्ड प्रयोग गर्न रोक लगाइएको छ। धार्मिक पर्वको मौलिकता र परम्परागत स्वरूपलाई प्राथमिकता दिँदै डिजेको सट्टा भजन–कीर्तन, धार्मिक झाँकी तथा सांस्कृतिक प्रस्तुतिलाई प्राथमिकता दिइएको राधाकृष्ण मन्दिर व्यवस्थापन समितिका अध्यक्ष कैलाश रेग्मीले बताए।
राधाकृष्ण मन्दिरबाट सुरु हुने रथयात्रा तीन पैनी चोक, गोल्छा चोक, मेनरोड, ट्राफिक चोक, रोड शेष चोक र महेन्द्र चोक हुँदै कोशी राजमार्गतर्फ जानेछ। त्यसपछि बरगाछी र दुर्गा चोक हुँदै पुनः राधाकृष्ण मन्दिर फर्किनेछ। करिब आठ किलोमिटर दूरीको रथयात्राका क्रममा ४४ स्थानमा विश्रामको व्यवस्था गरिएको छ।
रथयात्राका क्रममा भेटीका रूपमा संकलन हुने रकम भोटेकोशी बाढीपीडितको राहतमा प्रयोग गरिने आयोजकले जनाएको छ। नगर परिक्रमा गराइने तीन वटा दान पेटिकाबाट सङ्कलित रकमसमेत प्रधानमन्त्री राहत कोषमा जम्मा गरी बाढीपीडितका लागि खर्च गरिनेछ।
रथयात्राको भिड तथा सम्भावित गतिविधिमाथि निगरानी राख्न ड्रोनसमेत प्रयोग गरिने मोरङ प्रहरी प्रमुख एसपी कवित कटवालले बताए। रथयात्राका क्रममा उच्छृङ्खल गतिविधि तथा आपराधिक क्रियाकलाप गर्नेहरूलाई तत्काल नियन्त्रणमा लिएर कारबाही गरिने प्रहरीले जनाएको छ।
कृष्ण जन्माष्टमीको भोलिपल्ट मनाइने राधाकृष्ण रथयात्रा कोशी प्रदेशका विभिन्न सहरमा धार्मिक उत्सवका रूपमा मनाइँदै आएको छ। विराटनगरसहित इटहरी, दुहबी लगायतका सहरमा समेत शनिबार रथयात्रा निकालिँदै छ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।