काठमाडौं– भोटेकोशी नदीमा आएको विनाशकारी बाढीपछि हालसम्म १ हजार ३४४ शव फेला परेको छ।
नेपाल प्रहरीले बाढी प्रभावित क्षेत्रमा खोज, उद्धार, राहत वितरण तथा शव व्यवस्थापनका लागि ७ हजार ९१२ प्रहरी परिचालन गरेको जनाएको छ।
प्रहरीका अनुसार फेला परेका शवमा ५२ बालक, ३३ बालिका, २६९ महिला र ४८९ पुरुष छन्। त्यसैगरी ५०१ वटा आंशिक मानव अंग फेला परेका छन्।
शवको पहिचानका लागि प्रहरीले डीएनए नमुना संकलन गरिरहेको छ। हालसम्म १ हजार २६० मृतकको तथा ९७२ जना आफन्तको डीएनए नमुना संकलन गरिएको छ।
प्रहरीले १ हजार ३० शव व्यवस्थापन गरिसकेको प्रहरीले जनाएको छ। पहिचान नखुलेका १ हजार २७० शवको विवरण नेपाल प्रहरीको वेबसाइटमा अपलोड गरिएको छ।
बाढीपछि ४ हजार ८९८ जना बेपत्ता रहेका छन्। तीमध्ये २ हजार ९३० जना स्वदेशी र ६१८ विदेशी नागरिक रहेका छन्।
प्रहरीका अनुसार बेपत्ता रहनेमा २ हजार ४४८ पुरुष र ४८२ महिला रहेका छन्। यस्तै, १ हजार ३५० जना बेपत्ता रहेको फोनबाट उजुरी दर्ता भएको छ।
हालसम्म ८ हजार ६३१ जनाको उद्धार गरिएको छ। विभिन्न स्थानमा रहेका होल्डिङ सेन्टरमा तीमध्ये ३ हजार ६५५ जनालाई राखिएको प्रहरीले जनाएको छ।
बाढी प्रभावित क्षेत्रमा उद्धार तथा खोजीका साथै नागरिकलाई सचेत गराउन १११ वटा जनचेतनामूलक कार्यक्रम सञ्चालन गरिएको छ। ती कार्यक्रममा ४१ हजार ८३८ जना सहभागी भएको प्रहरीले जनाएको छ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।