काठमाडौं– दार्चुलाको अपिहिमाल गाउँपालिका-१, भट्टारमा पहिरो खस्दा चौलानी नदी थुनिएपछि जोखिममा रहेका स्थानीयलाई सुरक्षित स्थानमा सारिएको छ।
पहिरोको उच्च जोखिममा रहेका भट्टार वस्तीका १० परिवारलाई सुरक्षित स्थानम सारिएको अपिहिमाल गाउँपालिकाका अध्यक्ष भक्तसिंह ठेकरे बोहराले बताए।
उनका अनुसार भट्टार वस्तीका १० परिवारका करिब २५/३० जना मानिसलाई नजिककैको गुरसाडमा सारिएको छ। उनीहरूको लागि त्रिपाल लगायत खाद्यन्न सामाग्री गाउँपालिकाले उपलब्ध गराएको अध्यक्ष बोहराले बताए।
‘थुनिएको नदी अहिले खुलेको छ। अब थोरै मात्रै थुनिएको छ। तर पहिरो निरन्तर झरिरहेकाले जोखिम कायमै छ,’ उनले भने, ‘उच्च जोखिममा रहेको भट्टार बस्तीका १० परिवारलाई नजिकैको बस्तीमा सारेका छौँ।’
शुक्रबार नदीमाथिबाट आएको पहिरोले चौलानी नदीको केही भाग थुनिएको छ। पहिरो खस्ने क्रम अझै जारी रहेकाले नदी पूर्णरूपमा थुनिन सक्ने जोखिम रहेकोले तटीय क्षेत्रका स्थानीयलाई सतर्कता अपनाउन जिल्ला प्रशासन कार्यालय दार्चुलाले अनुरोध गरेको छ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।