काठमाडौं– रसुवाको भोटेकोसीमा गएको भदौ १० गतेको विनाशकारी बाढीले जनजीवन अस्तव्यस्त बनाएका बेला चिनियाँ संस्थाले ठूलो परिमाणमा राहत सामग्री सहयोग गरेको छ ।
चाइना फाउन्डेसन फर रुरल डेभलपमेन्ट (सीएफआरडी) ले ८.२६ नेपाल मडस्लाइड रेस्क्यु अपरेसन’ अन्तर्गत पहिलो चरणमा २७ टन राहत सामग्री काठमाडौँ ल्याएको हो ।
त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा आइपुगेका यी सामग्रीहरूको मूल्य १० लाख चिनियाँ युआनभन्दा बढी रहेको संस्थाले जनाएको छ। पहिलो चरणमा ल्याइएको उक्त राहत सामग्रीमा १७५ थान पाल, १ हजार थान कम्बल, १ हजार थान न्यानो कपासका कोट, १ हजार थान आपतकालीन मानवीय राहत बाकस र ६ हजार थान मेडिकल प्याकिङ ब्याग रहेका छन् ।
बाढीले लेदो र ढुंगासहितको तीव्र बहावले बस्ती तथा पूर्वाधारमा क्षति पुर्याएपछि सीएफआरडीले आफ्नो आपतकालीन प्रतिक्रिया संयन्त्र सक्रिय पार्दै यो सहायता जुटाएको हो ।
नेपाल सरकारको विपद् व्यवस्थापन संयन्त्रसँगको समन्वयमा यी सम्पूर्ण सामग्रीहरू तत्काल रसुवाका प्रभावित क्षेत्रमा पठाउने तयारी भइरहेको छ । हाइफ्लायर क्वान्ट, बेइजिङ टोङसिनयुआन र झेजियाङ अन्जिहुईलगायतका चिनियाँ उद्यम तथा सहयोगी संस्थाको सहकार्यमा यो सहायता सामग्री जुटाइएको हो। यसअघि पनि संस्थाले नुवाकोट क्षेत्रमा खाद्यान्न प्याकेज, पाल, जीवनयापनका सामग्री र सौर्य बत्तीहरू वितरण गरिसकेको छ ।
विसं २०७२ को भूकम्पयता नेपालका विभिन्न विपद्का समयमा सक्रिय रहँदै आएको सीएफआरडीले आगामी दिनमा पनि प्रभावित समुदायको आवश्यकता र अवस्थालाई मध्यनजर गर्दै मानवीय सहयोगलाई निरन्तरता दिने प्रतिबद्धता व्यक्त गरेको छ ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।