बैतडी– दार्चुलाको अपिहिमाल गाउँपालिका–२ भट्टार क्षेत्रमा पहिरो खस्दा चौलानी नदीको बहाव प्रभावित भएको छ। पहिरोका कारण नदीको केही भाग पुरिएपछि नदी थुनिन सक्ने जोखिम बढेको जिल्ला प्रशासन कार्यालय दार्चुलाले जनाएको छ।
प्रमुख जिल्ला अधिकारी वर्तराज पौडेलका अनुसार पहिरो गएको क्षेत्रमा हालसम्म क्षतिको आधिकारिक विवरण प्राप्त भएको छैन। घटनास्थलको अवस्थाबारे बुझ्न प्रहरी टोली परिचालन गरिएको छ।
‘पहिरो गएको क्षेत्रमा क्षतिको आधिकारिक विवरण आएको छैन। प्रहरी त्यसतर्फ गइसकेको छ,’ प्रजिअ पौडेलले भने।
जिल्ला प्रशासन कार्यालयले शुक्रबार सूचना जारी गर्दै माथिबाट खसेको पहिरोले चौलानी नदीको केही भाग पुरिएको र पहिरो खस्ने क्रम अझै जारी रहेकाले नदी थुनिन सक्ने सम्भावना रहेको जनाएको छ।
नदी थुनिएमा पानी एकत्रित भएर एक्कासि फुट्न सक्ने जोखिमलाई मध्यनजर गर्दै नदी तटीय क्षेत्रमा बसोबास गर्ने नागरिकलाई उच्च सतर्कता अपनाउन प्रशासनले आग्रह गरेको छ।
प्रशासनले सम्भावित जोखिमबाट सुरक्षित रहन तथा नदीको बहावमा असामान्य परिवर्तन देखिए तत्काल सुरक्षित स्थानतर्फ जानसमेत आग्रह गरेको छ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।