काठमाडौं– माथिल्लो त्रिशूली– ३ ए जलविद्युत् आयोजनाको सुरुङबाट एउटा शव निकालिएको छ ।
उद्धारमा खटिएका सैनिक अधिकारीका अनुसार शव निकालिएको हो । उक्त शवको पहिचान हुन बाँकी छ । यही सुरुङबाट शुक्रबार बिहान दुई जनाको जीवितै उद्धार गरिएको थियो ।
उद्धार भएका विद्युत् प्राधिकरणका मेकानिकल फोरम्यान सञ्जय साह र सुपरभाइजर कविर महर्जनको काठमाडौंस्थित नेपाली सेनाको अस्पतालमा उपचार भइरहेको छ ।
उनीहरूको स्वास्थ्य अवस्था सामान्य रहेको सेनाले जनाएको छ।
माथिल्लो त्रिशूली थ्री–ए परियोजनामा सुरुङभित्र रहेको विद्युत् गृहमा ४२ जना इन्जिनियर तथा कर्मचारीहरू फसेको अनुमान नेपाल विद्युत् प्राधिकरणको छ । त्यसमध्ये सबैभन्दा धेरै मानिसहरू विद्युत् गृहमा नै रहेको अनुमान छ ।
सो आयोजनाको भूमिगत विद्युत् गृह क्षेत्रमा थप मानिसहरुलाई उद्धार गर्न सकिन्छ कि भनेर निरन्तर खोजी तथा उद्धार अभियान जारी छ । अहिले सेनाले उद्धारमा जनशक्तिसमेत थप गरेको छ ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।