काठमाडौं– नुवाकोटको त्रिशूली–३ ‘ए’ को सुरुङबाट बाढीको शुक्रबार बिहान १०औँ दिनमा उद्धार गरिएका दुई जनामध्ये एक सञ्जय साहले बाढीपछिको तत्कालीन अवस्था र आफू भित्र फसेकोबारेमा छोटो कुराकानी गरेका छन् ।
उद्धारकर्मी सैनिक अधिकारीसँगको छोटो कुराकानीमा उनले बाढीपछिको सुरुङमा अवस्था, आफू कसरी अड्किएको र यतिका दिनसम्म के गरेर आशा गरेको भन्नेबारे छोटो कुराकानी गरेको सेनाका अधिकारीले बताएका छन् ।
सैनिक अधिकारीसँग गरिएको कुराकानीमा उनले बाढीलगत्तै सबैलाई भाग्न भन्दा भन्दै आफू अड्किएको बताएका छन् । सबैलाई बचाउने क्रममा आफू अन्तिममा निस्कन नसकेको उनको प्रतिक्रिया छ ।
कन्ट्रोल रुममा कार्यरत साहले भित्रै अड्किएपछि महामन्त्र जप गर्दै बसेको बताएका छन् । सुरुङमा अझै केही व्यक्ति फसेका हुन सक्ने पनि उनले जानकारी दिएका छन् ।
सप्तरीको तिलाठी कोईलाडी गाउँपालिका–८ का ३० वर्षीय साह त्रिशूली–३ ‘ए’ मा एचईपीमा फोरम्यान अर्थात् (मेकानिकल) का रूपमा कार्यरत थिए ।
त्यस्तै ४५ वर्षीय मेकानिकल सुपरभाइजर काठमाण्डौको बालकुमारीका कबिर महर्जनलाई पनि जीवितै उद्धार गरिएको छ । उहाँहरूलाई सेनाको हेलिकप्टरमार्फत काठमाडौं ल्याइएको छ । जटिल अवस्थामा रहेका महर्जनलाई वीरेन्द्र सैनिक अस्पताल छाउनीमा भर्ना गरी सघन उपचार भइरहेको छ । सञ्जय साहको अवस्था भने सामान्य छ ।
त्रिशूली–३ ‘ए’ मा अरू केही फसेका हुनसक्ने आशङ्कामा खोजी तथा उद्धार कार्य भइरहेको छ ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।