पोखरा– कास्कीको पोखरास्थित फेवातालमा कार खस्दा दुई जनाको मृत्यु भएको भने दुई जनाको जीवितै उद्धार गरिएको छ । शुक्रबार बिहान करिब ५ बजे पोखराको गैराचौतारा नजिकको घुम्ती सडकमा लेकसाइडतर्फ आउँदै गरेको बिआर ०५ बिबि ६७५९ नम्बरको भारतीय कार दुर्घटनामा परेको हो ।
दुर्घटनामा परि मृत्यु हुनेमा भारतको बिहार प्रदेशका २६ वर्षीय नवदीप कुमार यादव रहेको र अर्का पहिचान नखुलेका एक अन्दाजी ४५ वर्षका पुरुषको रहेको सशस्त्र प्रहरीले जनाएको छ । यादवको पहिचान आधार कार्डका आधारमा खुलेको हो ।
दुर्घटनाको खबर पाएलगत्तै सशस्त्र प्रहरीको गोताखोर टोलीले तालको २० फिट गहिराईबाट दुई जनालाई अचेत अवस्थामा फेला पारेको थियो । उनीहरूलाई तत्कालै पश्चिमाञ्चल क्षेत्रीय अस्पताल पुर्याएलगत्तै चिकित्सकले मृत घोषणा गरेका थिए ।
उद्धार गरिएका २७ वर्षका अनमोल कुमार यादव र ३३ वर्षका सुरज यादवको अवस्था खतरामुक्त रहेका छन् । कार अनियन्त्रित भई सडकबाट २० मिटर तल तालमा खसेको प्रहरीले जनाएको छ । तालमा खसेको कारलाई बिहान सवा ६ बजे क्रेनको सहयताले बाहिर निकालेर वडा प्रहरी कार्यालय बैदामको हातामा ल्याएर राखिएको छ ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।