काठमाडौं– राष्ट्रिय स्वतन्त्र पार्टीका सांसद मनिष झाले त्रिशूली–३ ‘ए’ जलविद्युत् आयोजनाको सुरुङभित्र फसेकामध्ये अरु तीन जना पनि जीवितै रहेको बताएका छन् ।
शुक्रबार बिहान यही सुरुङबाट २ जनाको सकुशल उद्धार गरिएको थियो । सञ्जय साह र कबिर महर्जनको सकुशल उद्धार भएको हो ।
झाले सुरुङभित्र अन्य तीन जना पनि जीवित रहेको जानकारी प्राप्त भएको सामाजिक सञ्जालमार्फत जानकारी दिएका छन् । नेपाली सेनाको नेतृत्वमा नेपाल प्रहरी, सशस्त्र प्रहरी बल र प्राविधिक विज्ञ सम्मिलित संयुक्त टोलीले आज बिहान साह र महर्जनको उद्धार गरेको हो। उद्धार गरिएका दुवै जनालाई आवश्यक स्वास्थ्य परीक्षण तथा उपचारका लागि छाउनीस्थित वीरेन्द्र सैनिक अस्पताल लगिएको छ।
सांसद झाले सुरुङभित्र अझै तीन जना जीवित रहेको जानकारी आएको भन्दै उनीहरूको उद्धारका लागि प्रयास भइरहेको बताएका छन्। यसबारे आधिकारिक रूपमा थप विवरण आउन बाँकी छ।
भोटेकोशी नदीमा आएको भीषण बाढीपछि आयोजनाको सुरुङभित्र मानिसहरू फसेको आशंकामा बाढी गएको समयदेखि नै उद्धार प्रयास जारी राखिएको थियो।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।