काठमाडौं– सरकारले रसुवाको भोटेकोशी नदीमा आएको भीषण बाढीमा परी ज्यान गुमाएका व्यक्तिहरूको सम्मानमा भदौ २२ गते सोमबार राष्ट्रिय शोक घोषणा गरेको छ।
तर, सत्तारूढ दल राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का संगठन विभाग प्रमुख प्रमोद न्यौपानेले भने उक्त निर्णयप्रति विरोध जनाएका छन्। उनले शुक्रबार सामाजिक सञ्जालमार्फत ‘शोक मनाउने’ शब्दावलीप्रति समेत आपत्ति जनाएका छन्।
‘शोक’ उत्सव नभएकाले नमनाउन र ‘शोक’ दुःख भएकाले व्यक्त गर्न आग्रह गरेका छन्। ‘शोक उत्सव होइन–नमनाऔँ। शोक त दुःख हो–व्यक्त गरौँ! कृपया, शोक मनाउने नभनौँ/नलेखौं,’ उनले लेखेका छन्।
सरकारले बिहीबार बाढीमा परी मृत्यु भएकाहरूको सम्मानमा घटनाको १३औँ दिन अर्थात् भदौ २२ गते राष्ट्रिय शोक घोषणा गरेको थियो। सो दिन नेपालभरका सरकारी कार्यालय तथा विदेशस्थित नेपाली दूतावास एवं नियोगमा नेपाली झण्डा आधा झुकाउने निर्णय गरिएको छ।
भदौ १० गते नेपाल–चीन सीमा क्षेत्रमा पर्ने रसुवाको भोटेकोशी नदीमा आएको भीषण बाढीमा परी हालसम्म १ हजार २९० शव फेला परेको छ। फेला परेका शवमा ३४ बालक, ४५ बालिका, २५० महिला र ४२७ पुरुष छन्। त्यसैगरी ५३२ वटा आंशिक मानव अंग फेला परेका छन्।
बाढीमा घाइते भई उपचारका क्रममा दुई जनाको मृत्यु भएको प्रहरीले जनाएको छ। शवको पहिचानका लागि प्रहरीले डीएनए नमुना संकलन गरिरहेको छ। हालसम्म १ हजार १४३ मृतकको तथा ७१९ जना आफन्तको डीएनए नमुना संकलन गरिएको छ।
प्रहरीले ९२६ शव व्यवस्थापन गरिसकेको प्रहरीले जनाएको छ। पहिचान नखुलेका १ हजार १४१ शवको विवरण नेपाल प्रहरीको वेबसाइटमा अपलोड गरिएको छ।
बाढीपछि ४ हजार ७९८ जना बेपत्ता रहेका छन्। तीमध्ये २ हजार ८४४७ जना स्वदेशी र ६०१ विदेशी नागरिक रहेका छन्।
प्रहरीका अनुसार बेपत्ता रहनेमा २ हजार ३६९ पुरुष र ४७८ महिला रहेका छन्। यस्तै, १ हजार ३५० जना बेपत्ता रहेको फोनबाट उजुरी दर्ता भएको छ।
हालसम्म ८ हजार १९७ जनाको उद्धार गरिएको छ। विभिन्न स्थानमा रहेका होल्डिङ सेन्टरमा तीमध्ये ३ हजार ६३१ जनालाई राखिएको प्रहरीले जनाएको छ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।