काठमाडौं– भोटेकोशीको बाढीपछि थुनिएको त्रिशूली–३ ‘ए’ आयोजनाको सुरुङभित्र मानिस बोलेको आवाज सुनिएको छ।
उद्धारमा खटिएको नेपाली सेनाको टोलीबाट यस्तो जानकारी प्राप्त भएको राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सांसद श्रीराम न्यौपानेले सामाजिक सञ्जालमार्फत जानकारी दिएका हुन्।
उनका अनुसार नेपाली सेना र सशस्त्र प्रहरीको उद्धार टोली सुरुङभित्र प्रवेश गरी उद्धार कार्यलाई तीव्रता दिइरहेको छ। सुरुङभित्रबाट मानिस बोलेको आवाज सुनिनु आशाजनक संकेत भएको उनले उल्लेख गरेका छन्।

न्यौपानेले हिजो साँझसम्म इन्जिनियरको भूमिकामा साइटमै रहेर उद्धार तथा खोजी कार्यमा संलग्न रहेको बताएका छन्। अब सांसदको हैसियतमा हेलिकप्टर प्रयोग नगरी पैदल जनसंवाद गर्दै विदुर पुग्ने र त्यसपछि गाडीमार्फत काठमाडौं फर्कने तयारीमा रहेको उनले जानकारी दिएका छन्।
‘उद्धार कार्यमा खटिनुभएका नेपाली सेना, सशस्त्र प्रहरी, प्राविधिक टोली तथा सम्पूर्ण उद्धारकर्मीप्रति हार्दिक सम्मान व्यक्त गर्दछु। आशा छ, सकुशल उद्धारको सुखद खबर छिट्टै सुन्न पाइनेछ,’ उनले लेखेका छन्।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।