काठमाडौं–रसुवाको भोटेकोशी बाढीबाट प्रभावित नुवाकोटस्थित त्रिशूली–३ ए जलविद्युत् आयोजनाको केबल डक्ट टनेलको मुख खुलाउने काम तीव्र पारिएको छ ।
बाढीले सुरुङ तथा आयोजनाका मुख्य संरचना पुरिएपछि मानिसहरू भित्र फसेको आशंकामा नेपाली सेनाको नेतृत्वमा ९३ जनाको टोली खोज तथा उद्धारमा खटिएको छ । टोलीमा चिनियाँ प्राविधिकसहित अन्य प्राविधिकहरू समेत छन् ।
सुरुङको मुखमा करिब ४० मिटर लामो र २० मिटर अग्लो भत्किएका फलामे संरचना तथा ठूला ढुंगासहितको डेब्रिस थुप्रिएको थियो । रातदिन निरन्तर काम गरेपछि माथिबाट करिब ३ फिट सुरुङको मुख खुलाइएको छ ।
मुख खुलेसँगै उद्धार टोली सुरुङभित्र करिब १५ देखि २० मिटरसम्म प्रवेश गरिसकेको छ । एक्स्काभेटर तथा अन्य मेसिन सुरुङभित्र लैजान पुरै मुख खुलाउनुपर्ने भएकाले बाँकी डेब्रिस हटाउने काम जारी छ ।
थप सातवटा ठूला बोल्डर ब्लास्टिङका लागि तयारी अवस्थामा राखिएको छ । करिब १७० मिटर लामो उक्त सुरुङ माटो र लेदोले भरिएको छ । सुरुङ पूर्ण रूपमा छिचोलेपछि मात्रै पावरहाउस लगायतका अन्य संरचनामा पुग्न सकिनेछ ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।