काठमाडौं– नेशनल प्याथ ल्याब एन्ड रिसर्च सेन्टरले भोटेकोशी बाढीबाट प्रभावित नागरिकको राहत, पुनर्निर्माण तथा पुनःस्थापनाका लागि प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा १५ लाख ५५ हजार ५५५ रुपैयाँ सहयोग गरेको छ ।
बाढी प्रभावित क्षेत्रमा दूषित पानी, सरसफाइको अभाव तथा संक्रामक रोगको जोखिम बढ्ने भएकाले स्वास्थ्य क्षेत्रसँग सम्बन्धित संस्थाका रूपमा सामाजिक उत्तरदायित्वअन्तर्गत सहयोग गरिएको ल्याबले जनाएको छ ।
ल्याबका प्रबन्ध निर्देशक पवन जोशीले रसुवा, नुवाकोट र धादिङका शैक्षिक, स्वास्थ्यलगायत क्षेत्रमा समुदायस्तरबाट सञ्चालन हुने कार्यक्रममार्फत थप २० लाख रुपैयाँसम्म सहयोग गर्ने प्रतिबद्धता जनाएका छन् ।
उनका अनुसार तत्कालीन राहतसँगै प्रभावित क्षेत्रको दीर्घकालीन पुनर्निर्माण तथा पुनःस्थापनामा समेत सहयोग गरिनेछ ।
अर्थ मन्त्रालयमा आयोजित कार्यक्रममा नेशनल प्याथ ल्याबका सञ्चालक समिति सदस्य शरद भुसाल र सञ्चालक अस्मिता अधिकारीले सहयोग रकम अर्थमन्त्री स्वर्णिम वाग्लेलाई हस्तान्तरण गरेका हुन् ।
नेशनल प्याथ ल्याबले आगामी दिनमा सरकार, स्थानीय समुदाय तथा सरोकारवालासँग सहकार्य गर्दै आवश्यकताका आधारमा सहयोगलाई निरन्तरता दिने जनाएको छ ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।