काठमाडौं– एनएसजेएफ पल्सर स्पोर्ट्स अवार्ड २०८२ बिहीबार आयोजना हुँदै छ ।
अवार्डको २३औं संस्करण राजधानीको भृकुटीमण्डपस्थित नेपाल पुलिस क्लबको ब्लू पभेलियन हलमा हुने आयोजक संस्था नेपाल खेलकुद पत्रकार मञ्चले जनाएको छ ।
नेपाली खेल पत्रकारहरूको छाता संगठन मञ्चले नेपाली खेलकुद क्षेत्रको सर्वाधिक महत्वको कार्यक्रमको रूपमा लिइने अवार्ड यस पटक बाढीपीडित प्रभावितप्रति समर्पित गरिने जनाइएको छ ।
साथै खेलाडी, प्रशिक्षक र खेलकर्मीलाई सम्मान र पुरस्कृत पनि गरिनेछ । ९ विधामा प्रदान गरिने अवार्ड अन्तर्गत वर्षका उत्कृष्ट खेलाडी पुरुष, महिला, युवा, प्रशिक्षक, पिपल्स च्वाइस अवार्ड, लाइफटाइम अचिभमेन्ट अवार्ड, स्पेसल अवार्ड, पारा एथलिट र एसियन स्पोर्ट्स जर्नालिस्ट अवार्ड रहेको छ ।
सपटक वर्ष पुरुष खेलाडीको मनोनयनमा चन्द्रबहादुर थापा (बक्सिङ), सोमबहादुर कुमाल (एथलेटिक्स), प्रदीप बजाइली मगर (कराते), दीपेन्द्रसिंह ऐरी (क्रिकेट) र सद्भाव आचार्य (गल्फ) परेका छन् । वर्ष महिला खेलाडीको मनोनयनमा एरिका गुरुङ (कराते), सानुमाया थिङ (कराते), सन्तोषी श्रेष्ठ (एथ्लेटिक्स), साबित्रा भण्डारी (फुटबल) र सबिना श्रेष्ठ (कराते) रहेको आयोजकले जनाएको छ ।
वर्ष युवा खेलाडीको प्रतिस्पर्धा अर्पिल राना (बक्सिङ), रेहान जावेद (कराते), मनीषाकुमारी बोहरा (कराते), पुरुषोत्तम सिलवाल (चेस) र रौनक श्रीवास्तव (क्रिकेट) रहेका छन् ।
वर्ष प्रशिक्षकमा दीपक महर्जन (बक्सिङ), कुशल श्रेष्ठ (कराते), मण्डेकाजी श्रेष्ठ (कराते), स्टुआर्ट ल (क्रिकेट) र पुरन सिंह खत्री (दृष्टिविहीन महिला क्रिकेट) छानिएका छन् ।
पिपल्स च्वाइससहित ५ विधाको मनोनयनमा फुटबलकी पूजा राना, मिक्स मार्सल आर्ट्स (एमएमए) का रवीन्द्र ढाँट, क्रिकेटका शेर मल्ल, भलिबलकी मीना सुनार र करातेकी सानुमाया थिङ प्रतिस्पर्धामा छन् । लाइफटाइम अचिभमेन्ट अवार्ड, स्पेसल अवार्ड, पारा एथलिट र एसियन स्पोर्ट्स जर्नालिस्ट अवार्ड विधाको विजेता कार्यक्रममै घोषणा गरिने आयोजक संस्थाले जनाएको छ ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।