काठमाडौं– बाढी पूर्वानुमान महाशाखाले बिहीबार रसुवा र नुवाकोट हुँदै बग्ने भोटेकोसी, त्रिशूलीसहित विभिन्न नदी तथा खोलामा आकस्मिक बाढीको उच्च जोखिम रहेको भन्दै सतर्कता अपनाउन आग्रह गरेको छ ।
महाशाखाले बिहीबार बिहान जारी गरेको बुलेटिनअनुसार काठमाडौंसहित ४८ जिल्लाका साना नदी तथा खोलामा बहाव उल्लेख्य बढ्ने र आकस्मिक बाढीको सम्भावना रहेको छ ।
विशेषगरी पछिल्लो समय बाढीबाट ठूलो क्षति भएका रसुवा र नुवाकोटमा भोटेकोसी, त्रिशूली तथा अन्य साना नदीको बहाव बढ्ने सम्भावना रहेकाले उच्च सतर्कता अपनाउन महाशाखाले अनुरोध गरेको छ ।
महाशाखाका अनुसार ताप्लेजुङ, पाँचथर, तेह्रथुम, संखुवासभा, धनकुटा, भोजपुर, सोलुखुम्बु, ओखलढुंगा, खोटाङ, उदयपुर, दोलखा, रामेछाप, सिन्धुली, सिन्धुपाल्चोक, काभ्रेपलाञ्चोक, ललितपुर, भक्तपुर, काठमाडौं, धादिङ, मकवानपुर, चितवन, गोरखा, तनहुँ, लमजुङ, मनाङ, मुस्ताङ, म्याग्दी, कास्की, स्याङ्जा, पर्वत, डोल्पा, रुकुमपूर्व, रुकुमपश्चिम, सल्यान, जाजरकोट, सुर्खेत, दैलेख, कालीकोट, मुगु, हुम्ला, जुम्ला, अछाम, बझाङ, बाजुरा, डडेल्धुरा, बैतडी, दार्चुला र कञ्चनपुर आसपासका नदी तथा खोलामा बहाव बढ्ने अनुमान गरिएको छ ।
यी अधिकांश क्षेत्रमा आकस्मिक बाढीको मध्यम जोखिम रहेको जनाइएको छ । नदी तथा खोला आसपासका बासिन्दालाई सतर्क रहन र सम्भावित जोखिमबाट जोगिन आवश्यक सावधानी अपनाउन महाशाखाले आग्रह गरेको छ ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।