धादिङ– पृथ्वी राजमार्गअन्तर्गत धादिङको कृष्णभीरमा सडक भासिएको ८२ घण्टापछि पहिलो चरणको डाइभर्सन निर्माणको काम सुरु भएको छ।
यातायात प्रभावित भएपछि डाइभर्सन निर्माणका लागि काम अघि बढाइएको हो। पहिलो चरणमा ग्याभिनभन्दा माथिको क्षेत्रमा झाडी फाँड्ने र रुख काट्ने काम बिहीबार बिहानदेखि सुरु गरिएको छ।
त्रिशूली नदीमा गएको बाढीले सडकको तल्लो भाग कटान गरेपछि गत आइतबार कृष्णभीरमा करिब २० मिटर लम्बाइको सडकको आधाभन्दा बढी भाग भासिएको थियो। उक्त सडक भासिएपछि पृथ्वी राजमार्ग बन्द भएको थियो। त्यसपछि खतरा लेखेको रिवन टांगेर राखिएको थियो।
त्योसँगै काठमाडौं भित्रिने र बाहिरिने सवारीसाधनलाई वैकल्पिक मार्गबाट सञ्चालन गर्ने व्यवस्था मिलाइएको छ। १० चक्कासम्मका मालबाहक तथा ठूला यात्रुवाहक सवारीसाधन काठमाडौं जाँदा त्रिभुवन राजपथ र फर्किंदा कान्ति राजमार्ग प्रयोग गर्ने व्यवस्था मिलाइएको छ।
कान्ति राजमार्ग हुँदै हेटौंडातर्फ आउने यात्रुवाहक सवारीसाधनले साँझ ६ बजेसम्म मकवानपुरको इलाका प्रहरी कार्यालय ठिङ्गन चेकपोस्ट पार गरिसक्नुपर्नेछ।
१४ सिटभन्दा कम क्षमताका साना यात्रुवाहक सवारीसाधन हेटौंडातर्फ आउँदा फर्पिङ–फाखेल–कुलेखानी हुँदै भीमफेदी र काठमाडौं जाँदा भीमफेदी–कुलेखानी–सिस्नेरी–दक्षिणकाली हुँदै जान सक्ने व्यवस्था गरिएको छ।
मकवानपुरको त्रिखण्डी नजिक रहेको बेलीब्रिजको भारवहन क्षमता कमजोर रहेकाले इन्धन तथा भारी मालबाहक सवारीसाधनलाई उक्त पुल प्रयोग नगरी छेउमा रहेको डाइभर्सनबाट जान आग्रह गरिएको छ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।