काठमाडौं– भोटेकोशी बाढी आएको एक सातापछि सरकारले बिहीबार काठमाडौंस्थित कूटनीतिक तथा दाता समुदायलाई बाढीपछिको पछिल्लो अवस्थाबारे जानकारी गराउने भएको छ।
परराष्ट्रमन्त्री शिशिर खनालले बिहीबार बिहान कूटनीतिक नियोगका प्रमुख तथा दाता समुदायका प्रतिनिधिलाई बाढीपछिको अवस्था, खोज तथा उद्धार र राहत वितरणबारे जानकारी गराउनेछन्।
परराष्ट्र मन्त्रालयका अनुसार कूटनीतिज्ञ तथा दाता समुदायका प्रतिनिधिलाई बिहीबार बिहान १०:३० बजेसम्म मन्त्रालयमा उपस्थित हुन भनिएको छ। १० भदौमा नेपाल–तिब्बत सीमा क्षेत्रमा आएको भीषण बाढीका कारण नेपालतर्फ १ हजार २२२ जनाको मृत्यु भएको छ भने २५ प्रहरीसहित ४ हजार ८७५ जना बाढीमा बेपत्ता छन्।
बाढीमा बेपत्ता भएकामध्ये स्वदेशी २ हजार ९२४ जना र विदेशी ६०१ जना रहेको प्रहरीले जनाएको छ। ४ हजार ६६९ पुरुष र २ हजार १९३ महिला तथा ४५ जना नखुलेकालाई उद्धार गरिएको छ। यस्तै, ६५० विदेशी नागरिकको पनि उद्धार गरिएको छ।
त्यस्तै होल्डिङ सेन्टरमा ३ हजार १२६ जना रहेका छन्। वेबसाइटमा पहिचान नखुलेका ९५३ शवको विवरण अपलोड गरिएको प्रहरीले जनाएको छ।
परराष्ट्रमन्त्री खनालले बिहीबारको ब्रिफिङमा जारी खोज तथा उद्धार कार्यको प्रगति, राहत वितरणको अवस्था र बेपत्ता व्यक्तिको खोजीका लागि सरकारले गरिरहेको प्रयासबारे जानकारी गराउनेछन्।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।