काठमाडौं– हाल देशभर मनसुनी वायुको प्रभाव रहेको छ। मनसुनको न्यूनचापीय रेखा पश्चिममा सरदर स्थानभन्दा केही उत्तर तथा पूर्वमा सरदर स्थानकै आसपास रहेको जल तथा मौसम विज्ञान विभागले जनाएको छ।
मौसम पूर्वानुमान महाशाखाका अनुसार बिहीबार कोशी प्रदेशको तराई तथा मधेश प्रदेशमा आंशिक बदली रहेको छ भने बाँकी भूभागमा सामान्यतया बदली रहेको छ। बागमती प्रदेशका केही स्थान तथा कोशी, गण्डकी, लुम्बिनी, कर्णाली र सुदूरपश्चिम प्रदेशका थोरै स्थानमा मध्यम वर्षा भइरहेको छ।
दिउँसो देशभर सामान्यतया बदली रहनेछ। हिमाली र पहाडी भूभागका केही स्थानमा मेघगर्जन र चट्याङसहित मध्यम वर्षा तथा हिमपातको सम्भावना रहेको छ।
कोशी र सुदूरपश्चिम प्रदेशका तराई भूभागका केही स्थान तथा मधेश, बागमती, गण्डकी र लुम्बिनी प्रदेशका तराईका थोरै स्थानमा मेघगर्जन र चट्याङसहित मध्यम वर्षाको सम्भावना छ। मधेश तथा लुम्बिनी प्रदेशका तराईका केही स्थानमा हावाहुरी चल्न सक्ने महाशाखाले जनाएको छ।
दिउँसो कोशी, बागमती र गण्डकी प्रदेशका हिमाली तथा पहाडी भूभागका साथै लुम्बिनी, कर्णाली र सुदूरपश्चिम प्रदेशका पहाडी भूभागका एक-दुई स्थानमा भारी वर्षाको सम्भावना रहेको छ।
राति पनि देशभर सामान्यतया बदली रहनेछ। कोशी, बागमती र गण्डकी प्रदेशका हिमाली तथा पहाडी भूभागका केही स्थानमा तथा लुम्बिनी, कर्णाली र सुदूरपश्चिम प्रदेशका हिमाली र पहाडी भूभागका थोरै स्थानमा मेघगर्जन र चट्याङसहित मध्यम वर्षा तथा हिमपातको सम्भावना छ।
त्यस्तै, कोशी प्रदेशको तराईका केही, मधेश, बागमती र गण्डकी प्रदेशका तराईका थोरै तथा लुम्बिनी र सुदूरपश्चिम प्रदेशका तराईका एक-दुई स्थानमा मेघगर्जन र चट्याङसहित मध्यम वर्षाको सम्भावना रहेको छ। राति कोशी प्रदेश तथा बागमती र गण्डकी प्रदेशका हिमाली भूभागका एक-दुई स्थानमा भारी वर्षा हुन सक्ने पूर्वानुमान छ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।