काठमाडौं– सर्वोच्च अदालतका प्रधानन्यायाधीशसहित विभिन्न तहका अदालतमा कार्यरत न्यायाधीशहरूले भोटेकोशी बाढीपीडितका लागि प्रधानमन्त्री राहत कोषमा १ करोड २४ लाख ५४ हजार २६० रुपैयाँ योगदान गर्ने भएका छन् ।
बुधबार बसेको सर्वोच्च अदालतको फूलकोर्ट बैठकले प्रधानन्यायाधीश र सर्वोच्च अदालतका न्यायाधीशको १५ दिनको पारिश्रमिक बराबरको रकम कोषमा योगदान गर्ने निर्णय गरेको हो ।
निर्णयअनुसार प्रधानन्यायाधीशबाट ५६ हजार २६१ रुपैयाँ तथा सर्वोच्च अदालतका १६ न्यायाधीशबाट ७ लाख ४८ हजार ३७६ रुपैयाँ गरी ८ लाख ४ हजार ६३७ रुपैयाँ योगदान हुनेछ ।
त्यस्तै, उच्च अदालतका मुख्य न्यायाधीश तथा न्यायाधीशले राजपत्राङ्कित विशिष्ट श्रेणीका कर्मचारीसरह र जिल्ला अदालतका न्यायाधीशले राजपत्राङ्कित प्रथम श्रेणीका कर्मचारीसरह सरकारले तोकेको रकम योगदान गर्ने निर्णय भएको छ ।
सोही आधारमा उच्च अदालतका ५ मुख्य न्यायाधीश र १४८ न्यायाधीशबाट ४३ लाख २४ हजार १३७ रुपैयाँ तथा जिल्ला अदालतका २८५ न्यायाधीशबाट ७३ लाख २५ हजार ४५० रुपैयाँ योगदान हुने अदालतले जनाएको छ ।
विभिन्न न्यायाधिकरणमा कार्यरत न्यायाधीशबाहेकका सदस्यबाट हुने योगदान रकम भने यसमा थपिने जनाइएको छ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।