काठमाडौं– प्राकृतिक विपद्का कारण विद्युत् उत्पादन, प्रसारण र सीमापार विद्युत् व्यापारमा पर्न सक्ने जोखिमको अध्ययन गर्न दक्षिण एसियाली मुलुकहरू सम्मिलित अन्तर्राष्ट्रियस्तरको प्राविधिक कार्यदल गठन भएको छ । उक्त कार्यदलको नेतृत्व नेपालको विद्युत् नियमन आयोगले गर्ने निर्णय भएको छ ।
दक्षिण एसियाली पूर्वाधार नियमन मञ्च (एसएएफआईआर) को कार्यसमिति तथा निर्देशक समितिको बैठकले ‘विपद्–प्रतिरोधी विद्युत् नियमन’ (डिजास्टर रिजिलिएन्ट इलेक्ट्रिसिटी रेगुलेसन) सम्बन्धी प्राविधिक अध्ययन तथा अनुसन्धानका लागि क्षेत्रीय प्राविधिक कार्यदल गठन गर्ने निर्णय गरेको हो ।
भारतको हरियाणा, मानेसारमा भदौ १४ र १५ गते बसेको बैठकले कार्यदलको नेतृत्व नेपालको विद्युत् नियमन आयोगलाई दिने निर्णय गरेको आयोगले जनाएको छ । कार्यदलमा भारत, भुटान, बंगलादेश र श्रीलंकाका नियामक निकायको सक्रिय सहभागिता रहनेछ ।
भोटेकोशी बाढीका कारण जलविद्युत् आयोजना, प्रसारण प्रणाली तथा अन्य विद्युत् पूर्वाधारमा ठूलो क्षति भएपछि विद्युत् क्षेत्रमा प्राकृतिक विपद्को जोखिम व्यवस्थापनको विषयलाई क्षेत्रीय तहमा समेत अध्ययन गर्नुपर्ने आवश्यकता देखिएको हो ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।