काठमाडौं– सभामुख डीपी अर्यालले रसुवा बाढीबारे पेस गरेको विशेष प्रस्ताव प्रतिनिधि सभा बैठकले पारित गरेको छ।
सभामुखले राखेको प्रस्ताव सर्वसम्मत रूपमा पारित भएको हो।
बैठकमा सभामुखले राष्ट्रिय शोकको घडीमा ऐक्यबद्धता कायम राख्न र तीन वटै तहका सरकार, सबै दल, नागरिक समाज र राज्यका सबै संयन्त्र परिचालन गरी खोज, उद्धार र विस्थापित नागरिकलाई पुनर्स्थापना गर्न तथा घाइतेको उचित उपचारको प्रबन्ध मिलाउन सरकारलाई निर्देशन दिए।
उनले बाढीमा परेर ज्यान गुमाएर र उक्त घटनाबाट घरबारविहीन भएकाहरूको व्यवस्थापन एवम् घाइतेहरूको शीघ्र स्वास्थ्य लाभको कामना गर्दै दिवङ्गतहरूको आत्माको चिरशान्तिको कामना पनि गरे।
प्रस्तावमा उल्लेख भएअनुसार बाढीले रसुवाको टिमुरे, स्याफ्रुबेँसी, बेत्रावती तथा नुवाकोटको त्रिशूली बजार र देवीघाट लगायतका क्षेत्रमा निकै ठुलो विध्वंस मच्चाएको छ।
यस क्रममा धेरै संख्यामा स्वदेशी तथा विदेशी नागरिकहरू बेपत्ता भएका छन् भने ठुलो संख्यामा मानिसहरूको मृत्यु भएको छ। प्रतिनिधि सभाले बाढीमा परी ज्यान गुमाउनेहरूप्रति श्रद्धाञ्जली अर्पण गर्दै शोक सन्तप्त परिवारजनमा हार्दिक समवेदना व्यक्त गरेको छ।
त्यसैगरी, घाइतेहरूको शीघ्र स्वास्थ्य लाभको कामना गर्दै बाढीका कारण घरबारविहीन भएका नागरिकहरूको तत्काल उचित व्यवस्थापन र पुनर्स्थापनाका लागि सरकारको ध्यानाकर्षण गराइएको छ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।