काठमाडौं– भदौ १० गते बिहान नेपाल–चीन सीमाक्षेत्रमा गएको हिमपहिरोपछि आएको भोटेकोशी–त्रिशूली बाढीबाट करिब १६ लाख मानिस प्रभावित भएका छन् ।
सरकारले मंगलबार सार्वजनिक गरेको पहिलो स्थिति प्रतिवेदन अनुसार उक्त बाढीबाट सबैभन्दा बढी रसुवा र नुवाकोट अति प्रभावित भएका छन् । राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणका अनुसार रसुवा र नुवाकोट अति प्रभावित तथा धादिङ, गोरखा र चितवन मध्यम प्रभावित जिल्लाका रूपमा रहेका छन्।
बाढीपहिरोमा परी हालसम्म एक हजार बढीको जनाको मृत्यु पुष्टि भएको छ भने चार हजार बढी सम्पर्कविहीन छन् । बाढीले ४१ वटा पक्की पुल पूर्ण रूपमा बगाएको र चारवटामा क्षति पुगेको छ। नुवाकोटमा मात्रै १ हजार २६७ घर पूर्ण तथा १ हजार २५३ घर आंशिक रूपमा क्षतिग्रस्त भएका छन्। भोटेकोशी–त्रिशूली करिडोरमा ४ हजार ६८९ भवन जोखिममा परेको स्याटेलाइट म्यापिङले देखाएको छ।
बाढीबाट ७८३ मेगावाटभन्दा बढी क्षमताका जलविद्युत् तथा सोलार आयोजना प्रभावित भएका छन्। रसुवा, नुवाकोट र धादिङका १९ विद्यालयका ६ हजार ९०१ विद्यार्थी पनि प्रभावित भएका छन्।
यस्तै, स्वास्थ्य चौकी, अस्पताल, खानेपानी तथा फोहोरपानी प्रशोधन केन्द्रमा समेत ठूलो क्षति पुगेको छ। रसुवाका ३ हजार ७०२ घरधुरीका १४ हजार ४६१ नागरिक सडक, विद्युत् र सञ्चार सेवाबाट विच्छेद भएको प्रतिवेदनमा उल्लेख छ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।