काठमाडौं– गृहमन्त्री सुदन गुरुङले भोटेकोशी बाढीपछि जलविद्युत् आयोजनाका सुरुङमा फसेकाको उद्धार निकै चुनौतीपूर्ण बनेको बताएका छन्। उनले सुरुङभित्र १० फिटसम्म दलदल जमेको र बाहिर पहाड तथा साँघुरो भूगोलका कारण उद्धारमा कठिनाइ भइरहेको जानकारी दिए।
मंगलबार साँझ आयोजित पत्रकार सम्मेलनमा गुरुङले अपर त्रिशूली–३ एमा उद्धारका क्रममा एक्स्काभेटरसमेत दलदलमा डुबेको बताए। ड्रोनमार्फत थर्मल इमेजिङ क्यामेरा प्रयोग गरेर खोजी भइरहेको भन्दै उनले सुरुङभित्र रहेकाहरूको उद्धार हुने आशा अझै नछाडेको बताए।
उनका अनुसार उद्धार टोली क्राउनसम्म पुग्न सफल भएको छ। पावर हाउसको हेडबाट समेत खनेर सुरुङभित्र होल बनाई खाना र पानी पठाउन सकिन्छ कि भन्ने प्रयास भइरहेको छ।
गुरुङले विदेशी उद्धार टोलीलाई सरकारले आउन नदिएको भन्ने आरोप गलत भएको दाबी गरे। उनका अनुसार भारतीय र चिनियाँ टोलीलाई बाढी आएको भोलिपल्टै बोलाइएको र तेस्रो दिनदेखि उनीहरूले उद्धारमा काम थालेका थिए।
उनले राहत तथा उद्धारका लागि उपलब्ध सबै हेलिकप्टर परिचालन गरिएको बताए। कतिपय स्थानमा राहत पुग्न ढिलाइ भएको भए स्थानीय प्रशासनसँग समन्वय गर्न आग्रह गर्दै त्यसका लागि सरकारका तर्फबाट क्षमासमेत मागे।
पूर्वसूचनाबारे उठेको प्रश्नमा उनले बाढी आउनुअघि बिहान ९ः५० बजे सबैलाई मोबाइल सन्देश पठाइएको र विभिन्न स्थानमा माइकिङ गरिएको बताए। माइकिङकै क्रममा चार सुरक्षाकर्मीसमेत बेपत्ता भएको उल्लेख गर्दै सुरक्षाकर्मीको अवस्थाबारे पनि चासो दिन आग्रह गरे।
निजी हेलिकप्टर उडाउन नदिएको गुनासोबारे गुरुङले प्रभावित क्षेत्र अत्यन्तै साँघुरो खोँचमा रहेकाले हेलिकप्टर उडानमा उच्च जोखिम रहेको बताए। उनले ठूलो बाढीका कारण भएको क्षतिको यकिन गर्नसमेत कठिन भइरहेको बताएका छन्।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।