काठमाडौं– नेपाल–चीन सीमावर्ती क्षेत्रमा पर्ने छोचेन खोला आसपासको हिमनदी क्षेत्रमा थप हिमपहिरो वा हिमखस्ने जोखिम कायमै रहेको चिनियाँ जलस्रोत मन्त्रालयले जनाएको छ।
चिनियाँ सञ्चारमाध्यम सीसीटीभी न्यूजलाई उदृत गर्दै ग्लोबल टाइम्समा प्रकाशित समाचार अनुसार, दक्षिणपश्चिम चीनको तिब्बत स्वायत्त क्षेत्रअन्तर्गत ग्यारोङ काउन्टीमा देखिएको लेखोसहितको बाढी (डेब्रिज फ्लो) सम्बन्धी जोखिमको निरन्तर मूल्यांकन भइरहेको छ। मन्त्रालयले घटनासँग जोडिएका सम्भावित जोखिमको ‘फुल-चेन’ अध्ययन तथा विशेषज्ञ परामर्शलाई निरन्तरता दिएको जनाएको छ।
मन्त्रालयका अनुसार हालै गरिएको रिमोट सेन्सिङ तस्बिरको तुलनात्मक विश्लेषणमा ग्यारोङ त्साङ्पो नदी बेसिनमा यसअघि पहिचान भएका १४ वटा हिमतालको पानीको सतहमा उल्लेखनीय परिवर्तन देखिएको छैन। ती हिमतालहरू समग्रमा स्थिर अवस्थामा रहेको जनाइएको छ।
मंगलबार बिहान ८ बजे खिचिएको ड्रोन तस्बिरले भने नेपालतर्फ छोचेन खोला नदीमा बनेको प्रभाव क्षेत्रमा जम्मा भएको पानीको ठूलो हिस्सा बगिसकेको देखाएको छ। त्यस क्षेत्रभन्दा तलको नदीसमेत अहिले सामान्य रूपमा बगिरहेको चिनियाँ पक्षले जनाएको छ।
तर, प्रभाव क्षेत्र वरपरका हिमनदीहरूमा हिमखस्ने वा हिमपहिरो जाने सम्भावना अझै उच्च रहेको भन्दै चिनियाँ जलस्रोत मन्त्रालयले जोखिमप्रति सचेत रहनुपर्ने जनाएको छ।
यसअघि छोचेन खोला क्षेत्रमा हिमनदी तथा मलबे खस्दा नदीको बहाव प्रभावित भएको थियो। पछिल्लो ड्रोन अवलोकनले तत्काल नदीको पानीको अवस्था केही सामान्य देखाए पनि वरपरको हिमनदीको जोखिम पूर्ण रूपमा टरेको छैन।
चिनियाँ पक्षले घटनास्थल र आसपासका हिमताल तथा हिमनदीको अवस्थामाथि निरन्तर निगरानी गरिरहेको जनाएको छ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।