काठमाडौं– ड्युटीमा खटिएका प्रहरीको कामकारबाही नागरिकले अडियो तथा भिडियोमा रेकर्ड गर्न पाउनुपर्ने मागसम्बन्धी रिटमा सर्वोच्च अदालतले सरकारसँग जवाफ मागेको छ।
नेपाल ल क्याम्पसका विद्यार्थी विवेक चौधरी र विकास यादवले सार्वजनिक सरोकारको विषय भन्दै दायर गरेको रिटमा मंगलबार न्यायाधीश श्रीकान्त पौडेलको एकल इजलासले विपक्षीका नाममा कारण देखाऊ आदेश जारी गरेको हो।
निवेदकले माग गरेअनुसारको आदेश जारी गर्नुपर्ने वा नपर्ने विषयमा आधार र कारणसहित १५ दिनभित्र लिखित जवाफ पेस गर्न सर्वोच्चले विपक्षीलाई आदेश दिएको छ।
रिटमा सार्वजनिक स्थानमा खटिएका प्रहरीले गर्ने कामकारबाही पारदर्शी बनाउन नागरिकलाई त्यसको अडियो तथा भिडियो रेकर्ड गर्न पाउने व्यवस्था हुनुपर्ने माग गरिएको छ। रिट निवेदकका तर्फबाट अधिवक्ताहरू नारायणप्रसाद श्रेष्ठ र थीरबहादुर कार्कीले बहस गरेका थिए।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।