काठमाडौं– भोटेकोशी बाढीपछि प्रभावित जलविद्युत् आयोजनाका सुरुङमा फसेकाहरूको खोज तथा उद्धारका लागि नेपाली सेनाले विदेशी उद्धार टोलीसहित काम तीव्र बनाएको छ।
नेपाली सेनाका अनुसार भदौ १६ गते बिहान ११ बजेसम्म हवाई माध्यमबाट २३ जनाको उद्धार गरिएको छ। बाढीपछि तत्काल उद्धारका क्रममा विभिन्न जलविद्युत् आयोजनाबाट यसअघि नै २७९ जनाको जीवित उद्धार भइसकेको छ।
चिलिमे हाइड्रोको सुरुङमा विदेशी विज्ञसहितको संयुक्त टोली करिब ५० मिटर, लाङटाङ हाइड्रोमा १५० मिटर र माथिल्लो त्रिशूली–१ मा करिब २०० मिटरसम्म प्रवेश गरी खोजी गरिरहेको सेनाले जनाएको छ।
माथिल्लो त्रिशूली–३ एमा सुरुङको हेड फेला पारेर कम्प्रेसरबाट हावा पठाउने तथा सुरुङभित्रको पानी निकाल्ने काम भइरहेको छ। तीनवटा एक्स्काभेटर प्रयोग गरी वैकल्पिक मार्ग खोल्ने काम भइरहेको छ भने रक ब्रेकरबाट सुरुङ प्रवेश गर्ने स्थान बनाउने प्रयास भइरहेको छ।
माथिल्लो त्रिशूली–३ बीमा पनि विज्ञसहितको सैनिक टोलीले सुरुङ प्रवेशद्वार पत्ता लगाएर एक्स्काभेटर प्रयोग गरी भित्र जाने बाटो खोल्ने काम गरिरहेको छ।
यसैबीच, रसुवाको टिमुरेदेखि नुवाकोट, धादिङ, चितवन र नवलपरासी पूर्वसम्मका प्रभावित क्षेत्रमा ९ हजार २ सयभन्दा बढी नेपाली सेना प्रत्यक्ष रूपमा परिचालन भएका छन्। उनीहरूले पैदल गस्तीमार्फत प्रभावित बस्ती, जंगल, डाँडा तथा खोला क्षेत्रमा अवस्था बुझ्ने, घाइतेको खोज तथा उद्धार, शव व्यवस्थापन, अवरुद्ध सडक खुलाउने र आपत्कालीन उपचारमा सहयोग गरिरहेका छन्।
बाढी प्रभावित क्षेत्रलाई संक्रमणमुक्त बनाउन धुन्चे बजार, त्रिशूली, देवघाटलगायतका स्थानमा डिसइन्फेक्सनको कामसमेत गरिएको सेनाले जनाएको छ। बाँकी प्रभावित क्षेत्रमा स्थानीय तहसँगको समन्वयमा यस्तो कार्यलाई निरन्तरता दिइने जनाइएको छ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।