काठमाडौं – टीकापुर घटनामा तीनै तहका अदालतबाट दोषी ठहर भएका रेशम चौधरीलाई सजाय माफी दिएर रिहा गर्ने सरकारको निर्णयविरुद्ध परेको रिटमा मंगलबार सर्वोच्च अदालतमा सुनुवाइ हुने भएको छ।
उक्त रिट न्यायाधीशद्वय अब्दुल अजिज मुसलमान र सुनिलकुमार पोखरेलको इजलासमा पेसी तोकिएको हो।
टीकापुर घटनामा श्रीमान् गुमाएकी शारदा कडायत बोहराले चौधरीको सजाय माफीविरुद्ध २०८० कात्तिक २१ गते सर्वोच्च अदालतमा रिट दायर गरेकी थिइन्। उक्त रिट करिब तीन वर्षदेखि सर्वोच्चमा विचाराधीन छ।
कर्तव्य ज्यान मुद्दामा जन्मकैदको सजाय पाएका चौधरीलाई सरकारले २०८० जेठ १५ गते गणतन्त्र दिवसका अवसरमा सजाय माफी दिई रिहा गरेको थियो। सरकारको उक्त निर्णय संविधान तथा प्रचलित कानुनविपरीत भएको दाबी गर्दै कडायतले रिट दायर गरेकी हुन्।
टीकापुर घटनामा आठ जना प्रहरी अधिकारी र एक नाबालकको ज्यान गएको थियो। घटनामा कडायतका श्रीमान् प्रहरी निरीक्षक केशव बोहराले पनि ज्यान गुमाएका थिए।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।