काठमाडौं– संयुक्त अरब इमिरेट्स (यूएई)बाट बाढी तथा पहिरो प्रभावित नेपालीका लागि ४५ टन राहत सामग्री बोकेको दोस्रो राहत विमान नेपाल आइपुगेको छ। यूएई सहायता एजेन्सीमार्फत सञ्चालन गरिएको उक्त विमान राहत सामग्रीसहित नेपाल आएको हो।
यूएईका राष्ट्रपति शेख मोहम्मद बिन जायद अल नाह्यानको निर्देशनअनुसार नेपालका बाढीपहिरो प्रभावितका लागि १ करोड अमेरिकी डलर (३ करोड ६७ लाख दिराम) बराबरको सहायता उपलब्ध गराउने निर्णय कार्यान्वयन गर्दै राहत सामग्री पठाइएको हो।
राहत सामग्रीमा अत्यावश्यक खाद्य सामग्री, उद्धार तथा राहतका सामग्री, विद्युत् उत्पादन गर्ने जेनेरेटर र अन्य आवश्यक सामग्री छन्। विशेषगरी बाढीपहिरोबाट सबैभन्दा बढी प्रभावित क्षेत्रमा रहेका परिवारलाई तत्काल सहयोग पुर्याउन यसले मद्दत गर्ने यूएईले जनाएको छ।
यो पहल विश्वभर प्राकृतिक विपत्तिबाट प्रभावित तथा आवश्यकतामा रहेका मानिसलाई सहयोग गर्ने यूएईको मानवीय प्रयासको हिस्सा हो। विपत्ति तथा संकटबाट प्रभावित समुदायलाई सहयोग गर्दै राष्ट्र तथा जनताबीचको ऐक्यबद्धता र सहकार्य सुदृढ गर्ने यूएईको मानवीय दायित्वअनुरूप सहायता प्रदान गरिएको हो।
नेपालमा बाढीपहिरो प्रभावितलाई सहयोग गर्ने क्रममा यूएईले यसअघि अगस्टमा पहिलो राहत विमानमार्फत अत्यावश्यक सहायता सामग्री पठाएको थियो। दोस्रो विमानको आगमनसँगै यूएईले नेपालमा मानवीय सहयोगलाई निरन्तरता दिएको हो।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।