काठमाडौं– गत बुधबारको विनाशकारी बाढीका कारण पुल भत्किएर सडक सम्पर्क प्रभावित भएका क्षेत्रमध्ये सरकारले तत्काल तीन स्थानमा बेलिब्रिज राख्न अध्ययन सुरु गरेको छ ।
सोमबार बाढीपछि छैटौं दिनको कार्यविवरण सार्वजनिक गर्दै प्रधानमन्त्री बालेन्द्र शाहले बेलिब्रिज राख्न अध्ययन सुरु भएको जानकारी दिएका छन् । उनका अनुसार नुवाकोटको देवीघाटस्थित तादी नदी, त्रिशूली बजार र बेत्रावती बजारमा बेलिब्रिज राख्ने विषयमा अध्ययन थालिएको हो ।
बाढीका कारण रसुवा, नुवाकोट र धादिङका अधिकांश स्थानमा पुल भत्किएपछि आवतजावत प्रभावित भएको छ। सरकारले ती क्षेत्रमा अस्थायी पुल निर्माणलाई प्राथमिकतामा राखेको प्रधानमन्त्री शाहले बताएका छन्।
उनका अनुसार सरकारसँग ४८ मिटर लम्बाइका ६ वटा र ७० मिटर लम्बाइको एउटा बेलिब्रिज उपलब्ध छन्। तीमध्ये आवश्यकताअनुसार तीन स्थानमा बेलिब्रिज राख्ने तयारी भइरहेको हो।
यसैबिच भारत सरकारबाट २३० फिट लामो सिंगल लेन मोडुलर स्टिल ब्रिज प्राप्त भएको छ। भारतले थप सात वटा बेलिब्रिज पठाउने प्रतिबद्धता जनाएको छ भने चीन सरकारबाट पनि ३० वटा बेलिब्रिज चाँडै प्राप्त हुने प्रधानमन्त्री शाहले जानकारी दिए।
यसअघि बाढीका कारण प्रभावित नुवाकोटको त्रिशूलीपारिको भूभाग सडक सञ्जालमा पुनः जोडिएको छ। गल्छी–त्रिशूली राजमार्गअन्तर्गत त्रिशूली नदीको दायाँ किनार हुँदै कल्लेरीटार, कोशीखोला, पिपलटार, दर्शनटार, छत्रेखोला र गौरीबेँसी हुँदै त्रिशूली बजारसम्मको सडक सञ्चालनमा आएको प्रधानमन्त्री शाहले बताए।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।