काठमाडौं – गोरखामा पहिरो गएर कालीगण्डकी थुनिएको भन्ने हल्ला गलत भएको जिल्ला प्रशासन कार्यालय गोरखाले जनाएको छ ।
सहायक प्रमुख जिल्ला अधिकारी नेत्र प्रसाद शर्माका अनुसार चुम क्षेत्रमा पहिरो गएको सत्य भए पनि नदी थुनिएको छैन ।
करिब ३५०० मिटरको उचाईमा रहेको चुमनुव्री गाउँपालिकाको छेकम्पार क्षेत्रमा पहिरो गएको शर्माले बताए । ‘पहिरो गएको हो, नदी थुनिएको हल्ला सत्य होइन’ शर्माले भने ।
पहिरोबारे थप जानकारी लिने काम भइरहेको पनि उनले बताए ।
छेकम्पार चौरी खर्क पारी ठूलो पहिरो गएर चुमबाट बग्ने बूढीगण्डकी थुनेको भन्ने हल्ला केहीबेर देखि सामाजिक सञ्जालमा फैलिइरहेको छ ।
पहिरोले केही समय नदी थुनिएको भए पनि अहिले बग्न थालिसकेको चुमनुब्री गाउँपालिकाका अध्यक्ष निमा लामाले जानकारी दिए । लामाका अनुसार छेकम्पारस्थित चौरी खर्कमा पहिरो गएर बूढीगण्डकीको सहायक नदी स्यार खोला थुनिएको थियो ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।