फाइल तस्बिर
काठमाडौं– बाढी, पहिरो तथा अविरल वर्षाका कारण देशका विभिन्न जिल्लाका मुख्य सडक तथा राजमार्गमा यातायात प्रभावित भएको छ।
नेपाल प्रहरीका अनुसार कोशी, बागमती र कर्णाली प्रदेशका विभिन्न सडकखण्ड पूर्ण रूपमा अवरुद्ध छन् भने केही सडकमा निश्चित समयका लागि सवारी सञ्चालनमा रोक लगाइएको छ।
कोशी प्रदेशको इलाम नगरपालिका–९ राजदुवालीमा अविरल वर्षाका कारण झापादेखि ताप्लेजुङ जाने मेची राजमार्ग पूर्ण रूपमा अवरुद्ध भएको छ। विवरणअनुसार शनिबार बिहान १० बजेदेखि सडक अवरुद्ध छ। उक्त सडकखण्डका लागि वैकल्पिक बाटो रहेको प्रहरीले जनाएको छ।
बागमती प्रदेशको काभ्रेमा सम्भावित बाढीका कारण खुर्कोट–नेपालथोक–कटुन्जेबेँसी सडकखण्डमा राति ६ बजेदेखि बिहान ८ बजेसम्म सम्पूर्ण सवारीसाधन सञ्चालनमा रोक लगाइएको छ। बिहान ८ बजेदेखि साँझ ६ बजेसम्म भने परिस्थितिको मूल्यांकन गरी सवारीसाधन सञ्चालन गरिने प्रहरीको भनाइ छ।
मकवानपुरमा सम्भावित बाढी तथा पहिरोका कारण हेटौंडा–ठिंगन–बागमती–ललितपुर सडकखण्डमा रातिको समयमा सवारी सञ्चालनमा रोक लगाइएको छ। २०८३/०५/१२ गतेदेखि अर्को सूचना नभएसम्मका लागि यस्तो व्यवस्था गरिएको हो। उक्त सडकखण्ड पूर्ण रूपमा अवरुद्ध हुन सक्ने र अवरोध लामो समयसम्म रहन सक्ने प्रहरीले जनाएको छ।
रसुवाको उत्तरगया गाउँपालिका–५ खाल्टेमा बाढीका कारण त्रिशूली–मैलुङ–स्याफ्रुबेँसी सडकखण्ड पूर्ण रूपमा अवरुद्ध भएको छ। उक्त अवरोध लामो समयसम्म रहन सक्ने विवरणमा उल्लेख छ। मुख्य राजमार्गका अन्य सडकखण्डमा समेत पूर्ण रूपमा अवरोध रहेको र अर्को सूचना नभएसम्म अवरोध कायम रहने छ।
नुवाकोटको शिवपुरी गाउँपालिका क्षेत्रमा सम्भावित बाढी तथा पहिरोका कारण टोखा–छहरे सडकखण्डमा राति १० बजेदेखि बिहान ५ बजेसम्म सवारी सञ्चालनमा रोक लगाइएको छ। यो व्यवस्था अर्को सूचना नभएसम्म कायम रहनेछ। यसैगरी, पासाङल्हामु सडकखण्ड पनि पूर्ण रूपमा अवरुद्ध रहेको प्रहरीले जनाएको छ।
कर्णाली प्रदेशको मुगुमा पहिरोका कारण छायानाथ रारा नगरपालिका–७ स्थित झ्यारीखोला र टोप्ला क्षेत्रमा नाम्गदेखि मुगु गमगढी आउने सडकखण्ड पूर्ण रूपमा अवरुद्ध भएको छ।
यसैगरी, सिन्धुपाल्चोकको भोटेकोशी गाउँपालिका–२, कोदारीमा पहिरोका कारण अरनिको राजमार्ग पूर्ण रूपमा अवरुद्ध भएको छ। धादिङको बेनिघाट रोराङ गाउँपालिका–७ कृष्णभीर तथा गजुरी गाउँपालिका–२ परेवा भीरमा पहिरोका कारण पृथ्वीराजमार्ग पनि पूर्ण रूपमा अवरुद्ध रहेको विवरणमा उल्लेख छ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।