काठमाडौं — विपद्का कारण प्रभावित एनसेलका २७ वटा मोबाइल साइटमध्ये २४ वटा पुनः सञ्चालनमा आएका छन्। एनसेलका अनुसार रसुवा, धादिङ र नुवाकोटमा रहेका कुल ७८ साइटमध्ये अहिले ७५ वटा सञ्चालनमा छन्।
विपद्का कारण बन्द भएका तीन साइटमध्ये नुवाकोटको एक र रसुवाको रसुवागढीअन्तर्गत टिमुरेको एक साइटमा पूर्वाधारमा क्षति भएको आशंका गरिएको छ। त्यस्तै, रसुवाको अर्को एक साइटमा भने हवाई उद्धार (एयरलिफ्ट) आवश्यक पर्ने भएकाले पुनः सञ्चालन गर्न बाँकी रहेको एनसेलले जनाएको छ।
नुवाकोटमा प्रभावित भएका १६ वटै साइट पुनः सञ्चालनमा ल्याइएको छ। हून, कालिकास्थान, चौतारो, चुली, बट्टार, विदुर, दुइपिप्ले, तारुक, माडे डाँडा, खड्काभञ्ज्याङ, महामण्डल, गुजेथर, देउराली, बट्टार बजार र पिपलटारलगायतका क्षेत्रमा रहेका टावर पुनः सञ्चालनमा आएका छन्।
त्यसैगरी, धादिङको गल्छी क्षेत्रमा रहेका खल्टे, सुनौला बजार र भूमि डाँडाका टावर पनि सञ्चालनमा ल्याइएको एनसेलले जनाएको छ। रसुवामा कालिकास्थान, धुन्चे, खाल्चेत भञ्ज्याङ, गोल्जुङ र गतलाङका पाँचवटा टावर पुनः सञ्चालनमा आएका छन्। यी टावर सञ्चालनमा आएसँगै प्रभावित क्षेत्रमा सञ्चार सेवा पुनः स्थापित हुनुका साथै आफन्तसँग सम्पर्कमा रहन तथा उद्धार र राहत वितरणका कार्यमा समेत सहयोग पुगेको एनसेलको भनाइ छ।
एनसेलले बाँकी रहेका साइटहरू पनि यथाशीघ्र पुनः सञ्चालनमा ल्याउन प्राविधिक टोली परिचालन गरी काम गरिरहेको जनाएको छ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।