काठमाडौं– बाढीका कारण माथिल्लो त्रिशूली–३ ‘ए’ जलविद्युत् आयोजनामा फसेका मानिसहरूको उद्धार कार्य सरकारले रातभर निरन्तर जारी राखेको छ।
तर आज बिहान करिब ४ बजे आयोजना क्षेत्रमा पुनः बाढी आएपछि त्रिशूली नदीको जलसतह ५ देखि १० मिटरसम्म बढेको छ। नदीको सतह अत्यधिक बढेपछि आयोजनाको किनार क्षेत्रमा तीव्र कटानसमेत सुरु भएको छ।
बाढी र कटानको जोखिम बढे पनि सरकारले उच्च सतर्कताका साथ आयोजना क्षेत्रको अवस्थाको अवलोकन गरिरहेको छ। माटो तथा लेदो हटाउन पुनः डोजर तथा अन्य भारी उपकरण परिचालन गर्ने तयारी गरिएको छ।
यसैबीच पहिरो र माटोले पुरिएको त्रिशूली–३ ‘ए’ को टनेल पोर्टल तथा पावर हाउस नियन्त्रण कक्षमा रहेका महत्वपूर्ण उपकरण सुरक्षित रूपमा निकाल्ने तयारीसमेत गरिएको छ।
आयोजनामा जडान गरिएका १९ वटा सीसीटीभी क्यामेरा, एचडीआर तथा सेटअप बक्सलगायतका उपकरण निकाल्न सरकारले हेलिकप्टरमार्फत ‘स्पेशल फोर्स’ परिचालन गर्ने तयारी गरेको हो।
सडक पहुँच अवरुद्ध रहेकाले पुरिएको भवन नजिकै हेलिकप्टरबाट उद्धार टोली उतारेर ती महत्वपूर्ण उपकरण सुरक्षित रूपमा निकाल्ने योजना बनाइएको छ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।