फाइल तस्बिर
काठमाडौं– भोटेकोशी नदीमा बाढीको बहाव बढेको सूचना जारी भएसँगै करिब एक घण्टा बन्द गरिएको काठमाडौं–मुग्लिन–नारायणगढ सडकखण्ड पूर्णरूपमा सञ्चालनमा आएको छ।
सडकमा अहिले कुनै अवरोध नरहेको र मौसमसमेत सामान्य तथा सफा रहेको प्रहरीले जनाइएको छ। रसुवाबाट पुनः बाढी आएको सूचना फैलिएपछि धादिङको गल्छी क्षेत्रका नदी तथा तटीय बस्तीका बासिन्दा त्रसित बनेका थिए। बाढीको जोखिमलाई मध्यनजर गर्दै स्थानीय बासिन्दा घरबाहिर निस्किएका थिए। प्रहरीले माइकिङ गर्दै जोखिमयुक्त बस्ती खाली गराउन थालेको थियो।
बाढीको सम्भावित जोखिमलाई ध्यानमा राख्दै राजमार्गमा समेत सवारी आवागमन रोकिएको थियो। सम्बन्धित निकायले अर्को सूचना जारी नभएसम्म जोखिमयुक्त क्षेत्रमा आवतजावत नगर्न आग्रह गरेको थियो। तर, बाढी ठूलो नआएपछि सवारी आवागमन पुन: सञ्चालन गरिएको हो।
प्रहरीका अनुसार मुग्लिन–नारायणगढ र मुग्लिन–काठमाडौं सडकखण्डमा कुनै अवरोध छैन र दुवैतर्फ सवारी सञ्चालनमा छन्। यस्तै, मुग्लिन–पोखरा सडकखण्डमा पनि अवरोध छैन। डुम्रे क्षेत्रमा भने सडक एकतर्फी रूपमा सञ्चालन भइरहेको छ।
त्यसैगरी नारायणगढ–बुटवल, बुटवल–पोखरा, नारायणगढ–हेटौँडा, धादिङ–सितापाइला तथा आँबुखैरेनी–गोरखा सडकखण्डमा पनि कुनै अवरोध नरहेको र यातायात अवस्था सामान्य रहेको प्रहरीले जनाएको छ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।