फाइल तस्बिर
काठमाडौं– अविरल वर्षासँगै आएको बाढी तथा पहिरोका कारण कोशी र बागमती प्रदेशका विभिन्न प्रमुख राजमार्ग तथा सडकखण्ड अवरुद्ध भएका छन्। नेपाल प्रहरीले सार्वजनिक गरेको विवरणअनुसार केही सडकखण्ड पूर्णरूपमा बन्द छन् भने केहीमा निश्चित समयका लागि सवारी आवागमन रोकिएको छ।
कोशी प्रदेशअन्तर्गत इलाम नगरपालिका–९ स्थित राजदुवाली क्षेत्रमा पहिरो खसेपछि मेची राजमार्ग पूर्णरूपमा अवरुद्ध भएको छ। पहिरोका कारण सडकमा सवारीसाधन सञ्चालन हुन सकेका छैनन्। सडक खुलाउने प्रयास भइरहेको प्रहरीले जनाएको छ।
बागमती प्रदेशको काभ्रेपलाञ्चोकमा सम्भावित बाढी तथा पहिरोको जोखिमलाई ध्यानमा राख्दै बीपी राजमार्गको खुर्कोट–नेपालथोक–कटुञ्जेबेँसी सडकखण्डमा सवारीसाधन सञ्चालनमा रोक लगाइएको छ।
प्रहरीका अनुसार जोखिमको अवस्थालाई मध्यनजर गर्दै निश्चित समयदेखि अर्को सूचना नभएसम्म उक्त सडकखण्डमा सम्पूर्ण सवारीसाधन सञ्चालनमा रोक लगाइएको हो।
मकवानपुरको हेटौँडा–डिभाङ–बागमती–ललितपुर सडकखण्डमा पनि सवारी आवागमन प्रभावित भएको छ। सम्भावित बाढी तथा पहिरोको जोखिमका कारण रातिको समयमा सवारीसाधन सञ्चालनमा रोक लगाइएको छ।
रसुवाको उत्तरगया गाउँपालिका–५ खाल्टे क्षेत्रमा त्रिशूली–मेलुङ–स्याफ्रुबेँसी/रसुवागढी सडकखण्ड अवरुद्ध भएको छ। उक्त सडकखण्डमा पहिरो तथा बाढीको जोखिमका कारण यातायात प्रभावित भएको हो।
त्यस्तै, नुवाकोटको शिवपुरी गाउँपालिका क्षेत्रको सडकखण्ड तथा मुख्य राजमार्गका केही स्थानमा पनि यातायात अवरुद्ध भएको प्रहरीले जनाएको छ। केही सडकखण्ड पूर्णरूपमा बन्द छन् भने कतिपय स्थानमा अर्को सूचना नभएसम्म सवारी सञ्चालन रोकिएको छ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।