काठमाडौं– हाल देशभर मनसुनी वायुको प्रभाव रहेको छ। जल तथा मौसम विज्ञान विभागका अनुसार मनसुनको न्यून चापीय रेखा पश्चिममा सरदर स्थानभन्दा केही उत्तर तथा पूर्वमा सरदर स्थान आसपास रहेको छ।
हाल देशभर साधारणतया बदली रहेको छ। बागमती प्रदेशका केही स्थान, गण्डकी, लुम्बिनी र कर्णाली प्रदेशका थोरै स्थान तथा कोशी, मधेश र सुदूरपश्चिम प्रदेशका एक–दुई स्थानमा मध्यमसम्म वर्षा भइरहेको विभागले जनाएको छ।
आइतबार दिउँसो देशभर साधारणतया बदली रहनेछ। देशका हिमाली तथा पहाडी भू–भागका धेरै स्थानमा मेघगर्जन तथा चट्याङसहित मध्यमसम्म वर्षा र हिमपातको सम्भावना रहेको छ। बागमती, गण्डकी, लुम्बिनी र सुदूरपश्चिम प्रदेशका तराई भू–भागका धेरै स्थान तथा मधेश र कोशी प्रदेशका तराई भू–भागका केही स्थानमा पनि मेघगर्जन तथा चट्याङसहित मध्यमसम्म वर्षा हुने सम्भावना रहेको छ।
कोशी, बागमती र गण्डकी प्रदेशका हिमाली तथा पहाडी भू–भाग, कर्णाली प्रदेशको पहाडी भू–भाग तथा लुम्बिनी र सुदूरपश्चिम प्रदेशका पहाडी र तराई भू–भागका एक–दुई स्थानमा भारी वर्षा हुन सक्ने विभागले जनाएको छ।
आइतबार राति पनि देशभर साधारणतया बदली रहनेछ। कोशी, बागमती, गण्डकी र लुम्बिनी प्रदेशका हिमाली तथा पहाडी भू–भागका केही स्थान तथा कर्णाली र सुदूरपश्चिम प्रदेशका हिमाली तथा पहाडी भू–भागका थोरै स्थानमा मेघगर्जन तथा चट्याङसहित मध्यमसम्म वर्षा र हिमपातको सम्भावना रहेको छ।
त्यस्तै, मधेश प्रदेश तथा कोशी, बागमती, गण्डकी र लुम्बिनी प्रदेशका तराई भू–भागका केही स्थान र सुदूरपश्चिम प्रदेशको तराई भू–भागका थोरै स्थानमा मेघगर्जन तथा चट्याङसहित मध्यमसम्म वर्षा हुन सक्ने पूर्वानुमान गरिएको छ। कोशी प्रदेशका पहाडी तथा तराई भू–भाग र बागमती प्रदेशका पहाडी भू–भागका एक–दुई स्थानमा राति भारी वर्षाको सम्भावना रहेको विभागले जनाएको छ।
वर्षाका कारण नदी तथा खोलानालामा पानीको बहाव बढ्न सक्ने भएकाले सम्भावित जोखिमलाई ध्यानमा राख्दै आवश्यक सतर्कता अपनाउन विभागले आग्रह गरेको छ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।