फाइल तस्बिर
धादिङ– रसुवाबाट पुनः बाढी आएको सूचना फैलिएपछि धादिङको गल्छी क्षेत्रका नदी तथा तटीय बस्तीका बासिन्दा त्रसित बनेका छन्। बाढीको जोखिमलाई मध्यनजर गर्दै स्थानीय बासिन्दा घरबाहिर निस्किएका छन् भने प्रहरीले माइकिङ गर्दै जोखिमयुक्त बस्ती खाली गराउन थालेको छ।
बाढीको सम्भावित जोखिमलाई ध्यानमा राख्दै राजमार्गमा समेत सवारी आवागमन रोकिएको छ। सम्बन्धित निकायले अर्को सूचना जारी नभएसम्म जोखिमयुक्त क्षेत्रमा आवतजावत नगर्न आग्रह गरिएको छ।
यसअघि जिल्ला प्रशासन कार्यालय, रसुवाले भोटेकोशी नदीमा बाढीको बहाव बढेको आवाज सुनिएको जनाएको थियो। त्यसपछि नदी आसपासका क्षेत्रमा उच्च सतर्कता अपनाउन आग्रह गरिएको हो।
जिल्ला प्रहरी कार्यालय चितवनले पनि रसुवाबाट पुनः बाढी तथा पहिरो आएको सूचना प्राप्त भएको भन्दै नदीजन्य तटीय क्षेत्रका बासिन्दालाई सतर्क रहन आग्रह गरेको छ। नारायणगढबाट पोखरा, मुग्लिन तथा काठमाडौं जाने–आउने सबै किसिमका सवारीसाधन अर्को सूचना प्रकाशित नभएसम्मका लागि पूर्ण रूपमा बन्द गरिएको जनाइएको छ।
राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणले पनि रसुवा, नुवाकोट र धादिङका नदी आसपासका क्षेत्रमा उच्च सतर्कता अपनाउन आग्रह गरेको छ। प्राधिकरणका अनुसार भोटेकोशी नदी आसपासको जोखिम अवस्था निगरानीमा राखिएको छ।
यद्यपि, जल तथा मौसम विज्ञान विभागअन्तर्गतको बाढी पूर्वानुमान महाशाखाले यसअघि बिहान ५:४५ बजे जारी गरेको अद्यावधिक सूचनामा रसुवा, नुवाकोट र धादिङका नदी आसपासका क्षेत्रमा तत्काल ठूलो बाढीको खतरा नरहेको जनाएको थियो।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।