काठमाडौं– एनसेलले बाढी प्रभावित क्षेत्रमा उपलब्ध गराउँदै आएको निःशुल्क भ्वाइस, डेटा र एसएमएस सेवा थप सात दिनका लागि बढाएको छ। यससँगै प्रभावित क्षेत्रमा शनिबारदेखि थप एक सातासम्म यी सेवा निःशुल्क उपलब्ध हुनेछन्।
यसअघि कम्पनीले तीन दिनका लागि निःशुल्क डेटा, अल नेट भ्वाइस र १०० वटा एसएमएस उपलब्ध गराएको थियो। विपद्का बेला प्रभावित नागरिक तथा उद्धार र राहतमा खटिएका टोलीलाई सञ्चार सम्पर्क सहज बनाउन सेवा अवधि थप गरिएको एनसेलले जनाएको छ।
यसैबीच, बाढीका कारण अवरुद्ध भएका एनसेलका १८ वटा मोबाइल टावर पुनः सञ्चालनमा आएका छन्। थप ९ वटा प्रभावित टावर सञ्चालनका लागि काम भइरहेको कम्पनीले जनाएको छ।
एनसेल फाउन्डेसनमार्फत कम्पनीले यसअघि प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा १ करोड रुपैयाँ सहयोगसमेत गरिसकेको छ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।