काठमाडौं –नेपाल पत्रकार महासंघले पत्रपत्रिकाले प्राप्त गर्दै आएको लोककल्याणकारी विज्ञापनबापतको रकममा सरकारले भारी कटौती गरेको भन्दै आपत्ति जनाएको छ।
महासंघका महासचिव रामप्रसाद दाहालद्वारा जारी विज्ञप्तिमा भोटेकोशी बाढीबाट भएको ठूलो मानवीय तथा भौतिक क्षतिको पीडामा मुलुक रहेका बेला सरकारले ‘सुटुक्क’ कार्यविधि संशोधन गरी लागू गरेको आरोप लगाइएको छ।
सूचना तथा सञ्चारमन्त्री डा. विक्रम तिमिल्सिनाले भदौ ५ गते स्वीकृत गरेको ‘छापामाध्यमका लागि लोककल्याणकारी विज्ञापन प्रकाशनसम्बन्धी (पहिलो संशोधन) कार्यविधि, २०८३’ मार्फत मोफसलबाट प्रकाशित पत्रपत्रिकाले पाउँदै आएको विज्ञापनबापतको रकममा आधा कटौती भएको महासंघले जनाएको छ।
लोककल्याणकारी विज्ञापनका लागि आर्थिक वर्ष २०८३/०८४ को बजेटमा कुल रकम वृद्धि गरिए पनि त्यससँग बाझिने गरी नयाँ कार्यविधि ल्याइनुले सरकारको सञ्चारमाध्यमप्रतिको अनुदार व्यवहार देखिएको महासंघको भनाइ छ।
त्यस्तै स्थानीय, प्रदेश र राष्ट्रिय सञ्चारमाध्यमलाई आर्थिक रूपमा धराशायी बनाउने निर्णय तत्काल फिर्ता लिन महासंघले माग गरेको छ। साथै, पुरानै दर कायम गर्न र अनलाइन सञ्चारमाध्यमलाई समेत लोककल्याणकारी विज्ञापन उपलब्ध गराउने व्यवस्था गर्न आग्रह गरिएको छ।
माग तत्काल सम्बोधन नभए देशव्यापी आन्दोलनमा उत्रिने चेतावनी महासंघले दिएको छ।

नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।