काठमाडौं– बुद्ध एयरले भोटेकोशी क्षेत्रमा आएको बाढी–पहिरोपछि पनि आफ्नो हवाई भाडादरमा कुनै परिवर्तन नगरेको जनाएको छ ।
कम्पनीले वेबसाइट वा मोबाइल एपमार्फत टिकट खरिद गर्दा थप ३०० रुपैयाँ छुट उपलब्ध गराउने तथा राहत सामग्रीको हवाई ढुवानी निःशुल्क गर्ने व्यवस्था गरेको बताएको छ ।
कम्पनीले जारी गरेको सूचनामा भदौ १० गते भोटेकोशी क्षेत्रमा गएको बाढी–पहिरोबाट भएको जनधनको अपूरणीय क्षतिप्रति आफूहरू सुरुदेखि नै गम्भीर रहेको उल्लेख गरेको छ ।
बुद्ध एयरले यात्रुहरूलाई टिकट खरिद गर्नुअघि आफ्नो वेबसाइट वा मोबाइल एपमार्फत हवाई भाडादर खोज्न अनुरोध गरेको छ । कम्पनीका अनुसार वेबसाइट तथा मोबाइल एपमा पहिलेकै जस्तो सहज एवं सुलभ भाडादर उपलब्ध छ ।
कम्पनीले हिजोदेखि भैरहवा, पोखरा तथा भरतपुरका लागि नियमित अतिरिक्त उडानसमेत सञ्चालन गर्दै आएको जनाएको छ । वेबसाइट वा मोबाइल एपबाट टिकट खरिद गर्दा यात्रुले थप ३०० रुपैयाँ छुट पाउनेछन् ।
त्यस्तै, राहत सामग्री संकलन तथा हवाई ढुवानीका लागि गृहमन्त्रालयको निर्णयअनुसार निःशुल्क व्यवस्था गरिएको कम्पनीले जनाएको छ । बाटोघाटो सहज नभएसम्म हालकै भाडादर कायम रहने पनि सूचनामा उल्लेख छ।
बुद्ध एयरले वर्तमान विषम परिस्थितिमा जस्तोसुकै व्यावसायिक चुनौती आए पनि यात्रुहरूलाई सहज एवं सुलभ भाडादर उपलब्ध गराउन प्रतिबद्ध रहेको जनाएको छ ।
कम्पनीले कतैबाट अत्यधिक महँगो टिकट बिक्री भइरहेको जानकारी प्राप्त भएमा आफूलाई सूचित गर्नसमेत यात्रुहरूसँग आग्रह गरेको छ । त्यस्ता गतिविधिविरुद्ध नियमानुसार आवश्यक तथा कडा कदम चालिने कम्पनीले जनाएको छ ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।