काठमाडौं –बाढी तथा अन्य विपद्का जोखिमबारे सर्वसाधारणलाई समयमै जानकारी दिन गुगलले नेपालमा आपत्कालीन सूचना सेवा सुरु गरेको छ।
गुगलले होमपेजमा ‘नेपाल फ्ल्यास फ्लड इमर्जेन्सी इन्फो एन्ड अपडेट्स’ छुट्टै लिंक उपलब्ध गराएको हो।
जसमार्फत पछिल्लो बाढीको अवस्था, जोखिम क्षेत्रसम्बन्धी जानकारी तथा अन्तर्राष्ट्रिय सञ्चारमाध्यममा प्रकाशित समाचारर हेर्न सकिने व्यवस्था गरिएको छ।
सेवामा बाढीसम्बन्धी गुगलको ‘फ्लड अलर्ट’सँगै प्रभावित क्षेत्र देखाउने नक्सा पनि समावेश गरिएको छ। यसले बाढीको जोखिममा रहेका स्थान पहिचान गर्न तथा त्यहाँको अवस्थाबारे जानकारी लिन सहज बनाउनेछ।
गुगलका अनुसार आपत्कालीन सूचनाको उद्देश्य सम्बन्धित सरकारी निकायबाट जारी हुने बाढीको पूर्वसूचना र चेतावनीलाई डिजिटल माध्यमबाट छिटो सर्वसाधारणसम्म पुर्याउनु हो।
जल तथा मौसम विज्ञान विभाग र बाढी पूर्वानुमान महाशाखाबाट प्राप्त सूचनालाई गुगल सर्च तथा गुगल म्याप्समार्फत प्रयोगकर्तासम्म पुर्याउन सकिने व्यवस्था गरिएको छ।
विशेषगरी बाढीको जोखिममा रहेका क्षेत्रमा रहेका नागरिकले समयमै चेतावनी प्राप्त गर्दा सम्भावित जोखिमबाट जोगिन र सुरक्षित स्थानतर्फ जान सहयोग पुग्ने अपेक्षा गरिएको छ।
पछिल्लो समय नेपालमा बाढी, पहिरो र आकस्मिक विपद्का घटना बढिरहेका बेला गुगलको यो सेवा आपत्कालीन अवस्थामा सूचना प्रवाह गर्ने थप डिजिटल माध्यमका रूपमा प्रयोग हुने देखिएको छ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।