खोटाङ– खोटाङको दिक्तेल रुपाकोट मझुवागढी नगरपालिका–२ छेपेखोलास्थित मध्यपहाडी लोकमार्गमा ट्र्याक्टर दुर्घटना हुँदा एक जनाको मृत्यु भएको छ। घटनामा ३३ जना घाइते भएका छन्।
भुलभुलेबाट दिक्तेलतर्फ आउँदै गरेको ना.५ त ४५५५ नम्बरको ट्र्याक्टर आफैं अनियन्त्रित भई दुर्घटनामा परेको प्रहरीले जनाएको छ। दुर्घटनामा दिक्तेल रुपाकोट मझुवागढी नगरपालिका–५ का १४ वर्षीय दिवश परियारको मृत्यु भएको हो। गम्भीर घाइते भएका उनको उपचारका लागि लैजाँदै गर्दा बाटोमै मृत्यु भएको प्रहरीले जनाएको छ।
ट्र्याक्टरमा सवार तथा मेला हेर्न जाँदै गरेका मानिसहरू दुर्घटनामा घाइते भएका हुन्। घाइतेमध्ये १९ जनालाई थप उपचारका लागि काठमाडौंस्थित केएमसी अस्पताल पठाइएको छ भने १४ जना सामान्य उपचारपछि डिस्चार्ज भएका छन्।
काठमाडौं पठाइएका घाइतेमध्ये दिक्तेल रुपाकोट मझुवागढी नगरपालिका–५ का ४५ वर्षीय सबिन तिरुवा र ९ वर्षीय योनिस विकको अवस्था गम्भीर रहेको छ। त्यस्तै, ३५ वर्षीया बिमला विकको अवस्था पनि गम्भीर रहेको प्रहरीले जनाएको छ।
अन्य घाइतेहरूमा ३० वर्षीया लिला श्रेष्ठ, ५७ वर्षीया लुलादेवी विक, ५० वर्षीय राजन विक, ५१ वर्षीय रामबहादुर विक, ३४ वर्षीय सिताराम विक, १८ वर्षीय मन्दीप तिरुवा, २३ वर्षीय नबिन परियार, १२ वर्षीय न्युकेश तिरुवा, ३५ वर्षीय बुडिराम विक, २१ वर्षीया मनिका परियार, ४० वर्षीया बिना परियार, १४ वर्षीया दिपसना परियार, १८ वर्षीया निशा परियार, १७ वर्षीया चन्द्रकला विक, १७ वर्षीय प्रबिन विक र १६ वर्षीय युकेश तिरुवा रहेका छन्। उनीहरूको अवस्था मध्यम रहेको प्रहरीले जनाएको छ।
दुर्घटनामा संलग्न ट्र्याक्टर घटनास्थलमै रहेको छ भने त्यसलाई उठाउने पहल भइरहेको छ। ट्र्याक्टर चालक ओखलढुंगाको सिद्धिचरण नगरपालिका–७ का २३ वर्षीय रिनिमा शेर्पालाई जिल्ला प्रहरी कार्यालय खोटाङले नियन्त्रणमा लिएर घटनाबारे थप अनुसन्धान गरिरहेको छ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।