काठमाडौं– पूर्वप्रधानमन्त्री एवं नेकपाका संयोजक पुष्पकमल दाहाल ‘प्रचण्ड’ले देश गम्भीर प्राकृतिक विपत्तिमा परेको बेला राजनीतिक मतभेद र आग्रह–पूर्वाग्रह त्यागेर सबै शक्ति एकताबद्ध हुनुपर्ने बताएका छन्।
राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछानेको आह्वानमा आयोजित सर्वदलीय बैठकमा बोल्दै अध्यक्ष प्रचण्डले संकटको घडीमा कसैलाई पनि एक्लो महसुस हुन नदिने गरी सबै दलहरू खोजी, उद्धार र राहत कार्यमा जुट्नुपर्ने बताए।
पार्टीका नेता–कार्यकर्ताहरूलाई सरकारी निकायसँग समन्वय गरी उद्धार र राहतमा खटिन निर्देशन दिइसकिएको जानकारी दिँदै उनले भने– ‘विपत्तिमा कोही नागरिक एक्लो नहोस्, उद्धार र राहतमा कुनै ढिलाइ नहोस् र राज्यको पहुँचबाट कोही बाहिर नपरोस् भन्ने साझा सङ्कल्पका साथ हामी अघि बढ्नुपर्छ।’
विगतका कोशी बाढी, जुरे पहिरो, २०७२ को महाभूकम्प तथा जाजरकोट भूकम्पमा दलहरूले देखाएको राष्ट्रिय एकताको स्मरण गर्दै उनले रसुवाको भोटेकोसी बाढीलगायत देशभरका विपत्ति व्यवस्थापनमा आफ्नो पार्टी सरकारको साथमा रहने स्पष्ट पारे।
बैठकलाई सम्बोधन गर्दै प्रचण्डले भने– ‘अहिले देश गम्भीर प्राकृतिक विपत्तिसँग जुधिरहेको छ। यस्तो अवस्थामा लामो राजनीतिक बहस र पूर्वाग्रहमा अल्झिने समय होइन। सबै राजनीतिक शक्ति एकै ठाउँमा उभिएर जनताको जीवन रक्षामा लाग्नुपर्छ।’
यसका लागि सम्बन्धित छिमेकी मुलुकसँग तत्काल समन्वय गरी उपलब्ध सूचना तथा पूर्वसूचना संयन्त्रलाई प्रभावकारी रूपमा सक्रिय बनाउनुपर्ने उनले बताएका छन् ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।