काठमाडौं– भारतका प्रधानमन्त्री नरेन्द्र मोदीले नेपालका प्रधानमन्त्री बालेन्द्र शाहसँग टेलिफोन संवाद गर्दै नेपालमा बाढीका कारण भएको मानवीय क्षतिप्रति दुःख व्यक्त गरेका छन् ।
मोदीले प्रधानमन्त्री शाहसँगको कुराकानीमा बाढीबाट ज्यान गुमाएका नागरिकप्रति समवेदना व्यक्त गर्दै कठिन परिस्थितिमा भारत नेपाली जनताको साथमा रहेको बताएका छन् ।
उनले नेपाललाई आवश्यक पर्ने सबैखाले मानवीय सहायता उपलब्ध गराउन भारत तयार रहेको प्रतिबद्धता जनाएका छन् ।
बाढीपछि उद्धार तथा राहतका लागि भारतीय टोलीले नेपाली पक्षसँग नजिक रहेर समन्वय गरिरहेको मोदीले बताएका छन् । उनले विपद्को यस कठिन घडीमा नेपाललाई आवश्यक सहयोगका लागि भारतले सक्दो प्रयास गर्ने बताएका हुन् ।
प्रधानमन्त्री शाहसँगको कुराकानीबारे जानकारी दिँदै मोदीले सामाजिक सञ्जालमार्फत नेपालमा बाढीबाट भएको जनधनको क्षतिप्रति दुःख व्यक्त गरेका छन् ।
यसैबीच, नेपालमा बाढीबाट प्रभावित भारतीय नागरिकको उद्धार तथा सहयोगका लागि भारतीय पक्षले आपत्कालीन सम्पर्क नम्बरसमेत सार्वजनिक गरेको छ ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।