काठमाडौं– राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछानेले विपद्को समयमा हुने भीआईपी मुभमेन्टका कारण सुरक्षाकर्मी उद्धार तथा राहत कार्यबाट अन्यत्र खटिनुपर्ने अवस्था नआओस् भन्दै सबैलाई सचेत हुन आग्रह गरेका छन्।
रसुवालगायतका क्षेत्रमा बाढीका कारण संकट उत्पन्न भइरहेका बेला लामिछानेले आफ्ना सांसदसहित सबैलाई भीआईपी मुभमेन्टमा विशेष ख्याल गर्न आग्रह गरेका हुन्।
उनले आफू पनि सकेसम्म भीआईपी मुभमेन्ट नगर्ने र जानैपर्ने अवस्था आएमा आफ्नो सुरक्षामा कुनै पनि सुरक्षाकर्मी नखटाउन आग्रह गरेका छन्।
“भीआईपी मुभमेन्टका कारण सुरक्षाकर्मी अन्यत्रै खटिनुपर्ने अवस्था आएर उद्धार र राहतमा समस्या नहोस्,” भन्ने आशयका साथ उनले सबैलाई विपद्को समयमा संयमित हुन आग्रह गरेका छन्।
लामिछानेले सरकार उद्धार तथा राहत कार्यमा सफल हुने विश्वाससमेत व्यक्त गरेका छन्। उनले संकटको समयमा सरकारले प्रभावकारी ढंगले काम गर्दै आफूलाई बलियो र सफल सरकारका रूपमा प्रस्तुत गर्ने विश्वास रहेको बताए।
उनले विपद्को समयमा प्राथमिकता उद्धार, राहत र नागरिकको सुरक्षालाई दिनुपर्नेमा जोड दिएका छन्।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।